नेपाली कांग्रेसभित्रको विवाद थप छताछुल्ल

 

काठमाडौं : नेपाली कांग्रेसभित्रको विवाद थप छताछुल्ल बनेको छ ।

आवरणमा देखिँदा तत्कालका मुद्दाहरुमा विभाजितजस्तो देखिएपनि कांग्रेसभित्रको मुख्य विवाद अबको महाधिवेशनमा पार्टी नेतृत्व कसले हत्याउने उद्देश्यमा निहित छ ।

सत्ता राजनीतिमा कुनैबेला एकछत्र राज गरेको कांग्रेस आफ्नो ७० वर्षे इतिहासमै विवादबाट कहिल्यै मुक्त भएन । पार्टीमा दुई वा दुईभन्दा बढी गुटहरु स्थापनाकालदेखि नै रहँदै आएका छन् ।

स्वार्थ नमिल्दा अन्तर्घात गरेर भएपनि अन्यलाई सहयोग गर्ने र आफ्नालाई ठेगान लगाउने रोग शीर्ष तहदेखि तल्लो तहसम्मका कांग्रेस नेताहरुले सिकिसकेका छन् । पटक–पटक यसको प्रयोगपनि गरेका छन् ।

यसकारण पछिल्लो समयमा कांग्रेसमा गुट होइन, ‘गिरोह’ छ भन्ने अभिव्यक्ति नेताहरुबाटै आउने गरेको छ ।

अहिले कांग्रेसभित्र तीनओटा शक्ति समूहरु सक्रिय छन् । १२औं महाधिवेशनसम्म दुई समूहमा विभाजित कांग्रेसीहरु १३औं महाधिवेशनमा तीन समूहमा विभाजित भए ।

त्यसको फाइदा उठाउँदै सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । देउवा सभापति भएदेखि नै कांग्रेसभित्रको स्वार्थ समूहको विवाद झन् बलियो र संस्थागत बन्दै गयो ।

तेस्रो धारकारुपमा उदाएको सिटौला समूह देउवासँग स्वार्थ मिल्दासम्म मिलेर लाभग्रहण गर्‍यो भने अहिले कुरा नमिल्दा पौडेल समूहसँग नजिकिएको छ ।

तर, पौडेल र सिटौला समूह एक भएजस्तो देखिएपनि भित्र–भित्र भने ठूलो मतभेद छ । यसको फाइदा फेरिपनि सभापति पक्षले उठाइरहेको छ ।

अर्कोतर्फ हिजो भागबन्डाको विरोध गर्ने पौडेल पक्ष अहिलेपनि हर तहमा भाग खोजिरहेको छ ।

यी समूहहरुबीच प्रतिष्ठाको लडाइँ चलिरहँदा विवाद भने अबको महाधिवेशनमा कसरी नेतृत्व हत्याउने भन्नेमै अड्केको छ ।

भर्खरै काठमाडौंमा लामो रस्साकस्सीकाबीच सकिएको महासमिति बैठकले केही ‘म्यान्डेट’सहित विधान संशोधनको अधिकार केन्द्रीय समितिलाई दियो ।

सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवैले महासमिति सदस्यहरुको भावनाअनुसार नै विधानमा सबै तल्लो तहबाट निर्वाचित भएर आउने र समानुपातिकमा एकपटकभन्दा बढी अवसर नदिने व्यवस्था उल्लेख गर्न तयार रहेको बताए ।

तर, केन्द्रीय समितिबाट विधान पारित गर्नेक्रममा सभापति पक्षले बहुमतका आधारमा त्यो निर्णयलाई उल्लंघन गर्‍यो । त्यसको मुख्य कारण थियो, अबको महाधिवेशनको जोड–घटाउ ।

उता, विपक्षमा रहेको भनिएको समूहको पनि हिसाब उही नै थियो । मुद्दापनि लोकप्रिय हुने र महाधिवेशन प्रतिनिधिको संख्यापनि बढाउन सकिने बुझाइ इतर पक्षको पनि छ ।

अझ अहिलेको खास विवाद विधान नै बहुमतबाट पारित गरिएपछि अब बन्न लागेको अनुशासन समिति, निर्वाचन समितिलगायतमा पनि बहुमतकै शृंखला दोहोरिँदा सबै ठाउँबाट पत्तासाप होइन्छ कि भन्ने डर सभापतिइतर समूहमा परेको छ ।

निर्वाचनमा अनुशासन उल्लंघन गरेको उजुरीको चाङ कांग्रेस केन्द्रीय कार्यालयमा छँदैछ ।

अनुशासन समिति बहुमतबाटै बन्ने र त्यसले गर्ने निर्णयपनि बहुमतकै आधारमा हुँदै जाने प्रणाली स्थापित हुँदा आफूहरु कमजोर हुने र आफू पक्षका धेरै नेता कारबाहीमा पर्ने डरमा पौडेल समूह छ ।

यसकारण अहिले पौडेल पक्षको बैठक अब के गर्ने भन्ने विषयमा छलफल गर्न दिनहुँ बसिरहेको छ ।

सोही समूहका शीर्ष नेताहरुको दबाबमा जिल्ला सभापतिहरुले नेतृत्वलाई चुनौती दिएर विज्ञप्तपनि निकालेका छन् । तर, त्यो चेतावनीले सभापतिलाई खासै असर गरेजस्तो देखिँदैन ।

त्यसको मूल कारण पौडेल समूहमा रहेका नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी र डा. शेखर कोइराला अबको महाधिवेशनमा आफैं उम्मेदवार बन्न चाहन्छन् भन्ने देउवाले राम्रोसँग बुझेका छन् ।

देउवा भने आफ्नो समूहमा अहिलेपनि निर्विकल्प छन् ।

निर्वाचनमा नराम्रोसँग खुम्चन पुगेको कांग्रेसभित्रको पछिल्लो विवादले उनीहरुमा अझै चेत नखुलेको त प्रस्ट नै छ ।

सत्ता र शक्तिहीन हुँदासमेत कांग्रेस रहोस् वा नरहोस् तर मेरो ‘गुट अमर रहोस्’ भन्ने प्रवृत्ति नेतृत्वमा रहिरहेको प्रस्ट हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार