इलाम : धेरै युवाहरु औपचारिक शिक्षा पूरा गरेर जागिरको खोजीमा लाग्छन् । पढाईको प्रमुख लक्ष्य पनि जागिर खाएर परिवारलाई सुखी बनाउनु हो । त्यसैले अध्ययनको विषय र क्षमता अनुसारको क्षेत्रमा जागिर खान युवाहरु तल्लिन रहन्छन् ।
तर इलामका एक युवा भने हातमा स्नातकोत्तर उत्तीर्ण सर्टिफिकेट बोकेर फरक क्षेत्रको खेलकुद विकासमा लागेका छन् । जिल्लाको फाफकोकथुम गाउँपालिका २ का २७ वर्षीय रोशन राई यतिबेला इलाममा इन्डोर गेमको विकास र खेल पर्यटन प्रोत्साहनका लागि अभियानमा जुटेका छन् ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका राईले ‘इलाम स्पोर्टस सेन्टर’ नामक संस्था नै दर्ता गरी जिल्लामा पहिलो पटक फूटसल कोर्ट निर्माणमा जुटेका छन् । उनको यो अभियानमा साथ दिएका छन् इलाम नगरपालिका ७ का सुरेन्द्र राईले । उनीहरुको संयुक्त लगानीमा इलाम नगरपालिका ९ काफ्ले गाउँमा सुविधासम्पन्न फूटसल कोर्ट निर्माण भईरहेको छ ।
करिब ८५ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न फूटसल कोर्ट निर्माण भईरहेको सेन्टरका रोशन राईले जानकारी दिए । उनका अनुसार दुई रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएर ट्रस्ट र कार्पेट लगाएर फूटसल कोर्ट निर्माण भईरहेको छ । फूटसल कोर्ट निर्माणको कार्य अन्तिम चरणमा पुगेको सेन्टरले सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘ट्रष्ट राजधानीबाट ल्याउनुपर्ने भएकाले ल्याउन र जडान गर्न मात्र बाँकी छ’ पत्रकार सम्मेलनमा राईले भने, ‘एक महिना भित्रमा फूटसल खेलाउन नै सुरु गर्नेछौं । हामी त्यो तयारीमा जुटिरहेका छौं ।’ उनका अनुसार फूटसल खेलसँगै चेस एकेडेमी, व्याडमिन्टन र अन्य इन्डोर गेम संचालनको व्यवस्था गरिनेछ । विजुलीको समेत व्यवस्थापन गरेर र कृतिम कार्पेट ओछ्याएर निर्माण गरिने फूटसल कोर्टमा २४ घण्टा खेल्न सकिनेछ ।
के हो फूटसल ?
फुटसल भनेको फुटबलको नै एउटा ब्रान्ड हो । फुटबलवाट नै फुटसल आएको हो । फुटबलको सानो रुप नै फुटसल हो । सन् १९३० बाट औपचारिक रूपमा ब्राजिलबाट सुरु भएको फुटसल खेल पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । खुला ठाउँको अभावमा समेत शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि फुटसल उपायोगी हुन्छ । सुरुमा उपत्यकामा मात्र केन्द्रित यो खेल अहिले विराटनगर, हेटौंडा, बनेपा, पोखरा, धरान, चितवनलगायतका देशका प्रमुख शहरमा समेत विस्तार भइसकेको छ ।
फुटबलकै सानो रुप अर्थात इन्डोरमा खेलिने फुटसल खेलको इतिहास जति लामो छ, यसमा त्यतिकै रोचक कुराहरु पनि रहेका छन् । उरुग्वेका जुआन कार्लोस सेरिआनी ग्राभियरलाई फुटसलका प्रारम्भकर्ता मानिन्छन् । फुटसल सुरु भएको ३ वर्षपछि सन् १९३३ मा बल्ल यसमा नियम लागू गरिएको थियो । फुटबल ९० मिनेट खेलाइन्छ भने फुटसल ४० मिनेट र ५–५ जना खेलाडीहरु मात्रै खेल्न सक्छन् । यस खेलका अधिकांश नियम फुटबलसँग मेल खान्छन् । तर एकमात्रै नमिल्ने भनेको यसमा हातले थ्रो हुँदैन । थ्रोलाई खुट्टाले नै प्रहार गरिन्छ ।
कसरी खेलिन्छ फुटसल ?
अन्तर्राष्ट्रिय स्तरको फुटसल पिचको आकार ४०÷२० मिटरको हुने गर्दछ । फुटसलमा एक समूहमा ५ जना गरी दुई समूहमा जम्मा १० जनाले खेल्ने गरिन्छ । धेरैजसो नियम फुटबलसँग मिल्ने यस खेललाई फुटसल पिच र फुटसल बलबाट मात्र खेल्ने गरिन्छ । साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भन्ने गरेको पाइएको छ ।
विश्वजगतमा केही समय पहिलेदेखि यसको लोकप्रियता बढ्दै गएपनि नेपालमा यो खेल भित्रिएको त्यति धेरै समय भएको छैन । यद्यपि छोटो समयमा नै युवा पुस्ताहरुबीच यसको लोकप्रियता दिनप्रतिदिन चुलिँदो छ । फुटसल खेलमा कुनै पनि उमेर हदको चिन्ता नहुने हुनाले ठूला उमेर समूहदेखि सानासम्म सबैले खेल्न सक्छन् ।