सुखानी पार्कमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)अाउदै

४६ औँ सुखानी सहिद स्मृति दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने

बिर्तामोड : पार्टी एकतापछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट यो पटक झापाको सुखानी शहिद स्मृति दिवसलाई सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते झापाको खुदुनाबारी र इलामको दानाबारी नजिकैको सुखानी जंगलस्थिते सुखानी पार्कमा हुने ४६ औँ सुखानी सहिद स्मृति दिवसलाई प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने तयारी भएको नेकपा झापाले जनाएको छ ।

आइतबार झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेकपाले यो वर्षको सुखानी सहिद स्मृति दिवसलाई विषेश बनाउन दुवै अध्यक्ष झापा आउने जानकारी दिएको हो ।

नेकपा झापाका नेता चिन्तन पाठकले किसान आन्दोलनका क्रममा २०२९ फागुन २१ ग्ते सुखानी जंगलमा हत्या गरिएका पाँच शहिद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सम्झिने जानकारी दिए ।
उनका अनुसार केही दिन अघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा सुखानीमा हुनेछ ।

‘यो वर्ष नेकपा शोकमा डुवेको छ, सुखानी सहिद स्मृति दिवसमा यो वर्ष हेलिकप्टरमा ज्यान गुमाएका नेता तथा मन्त्री अधिकारीसहित भरतमोहन अधिकारीको पनि श्रद्धाञ्जलीसभा गर्दैछौँ’, नेता पाठकले भने ।

उनले यो वर्षको ४६ औँ सुखानी शहिद स्मृति दिवस श्रद्धाञ्जली विषेश हुनेसमेत बताए । यसअघिका वर्षहरुमा तत्कालीन नेकपा एमाले र माओवादीले फरक फरक स्थानमा फरक दिन यो दिवस मनाउँदै आएका थिए ।

हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले कम्युनिष्ट आन्दोलनमा मुलुककै महत्वपूर्ण इतिहास बोकेको सुखानी काण्डमा मारिएका सहिदहरुलाई सम्झिने गरेका छन् । ४६ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले देशभर परिचित रहेको छ ।

झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको को–अर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा आजकै दिन हत्या गरिएको थियो । घिमिरे, कुइकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए ।

उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख रहेका छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार