अलैँची खेतीको क्षेत्र विस्तार गरेसँगै कृषकहरु उत्साहित

पाँचथर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाई पाँचथरले अलैँची खेतीको क्षेत्र विस्तार गरेसँगै कृषकहरु उत्साहित बनेका छन् । क्षेत्र विस्तारसँगै कृषकलाई आधुनिक प्रविधि उपलब्ध गराएपछि कृषकहरु कृतज्ञ बनेका हुन् ।

पाँचथरकोे फालेलुङ गाउँपालिकाको वडा नम्बर १, २ ६ र ७ मा मात्र कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन भएकोमा अहिले सबै वडामा कार्यक्रम सञ्चालन भएपछि स्थानीय हर्षित बनेका हुन् । अलैँची खेतीका लागि अनुकूल मानिएको यस क्षेत्रमा कृषकहरुले सहज रुपमा गुणस्तरीय र धेरै अलैँची उत्पादन गरुन् भन्ने उद्देश्यले सुधारिएको अलैँची भट्टीलगायतका प्रविधिहरु दिइएको छ ।

यसबाट कम समय र मिहिनेतमा गुणस्तरीय अलैँची तयार हुने भएकाले प्रविधिहरु उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाई पाँचथरका प्रमुख प्रकाश विश्वकर्मा बताउँछन् ।

पहिले ५११ हेक्टरमा अलैँची खेती हुने गरेकामा अहिले परियोजना सुरु भएपछि २५ सय हेक्टरमा खेती भइरहेको छ । आर्थिक बर्ष ०७३÷०७४ बाट अलैँची खेतीमा लागू भएको यो कार्यक्रमबाट अलैँची कृषकको समूह पनि २ बाट ९० पुगेको छ । जसमा चार हजारभन्दा बढी कृषक संगठित छन् ।

जोन आएपछि विभिन्न तालिमहरु, गटर स्प्रेयर, हाते ट्याक्टर, सुधारिएको भट्टीहरु दिएपछि आफूहरु हर्षित भएको स्थानीय धनशेर सम्हाम्फेको भनाइ छ ।

परम्परागत रुपमा खेती गर्दै आएका अलैँची कृषकले अहिले भने नयाँ प्रविधिबाट नयाँ तबरले खेती गर्न थालेका छन् । कृषकको आवश्यकता र अपेक्षाअनुसार नयाँनयाँ प्रविधि भित्राउन सके कृषि क्षेत्र विकासको बलियो आधार बन्न बेर लाग्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार