झापा : सशस्त्र प्रहरीको एपीएफ क्लब झापाको विर्तामोडमा जारी चौथो मगमग झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । उसले त्रिभुवन आर्मीसँग भेट पनि पक्का गरेको छ ।
खेल सुरु भएको ९ मिनेटपछि खेलाडीको रिलिज पेपरको विषयमा खेलमा तनाव सिर्जना भयो । मोरङका तीन जना खेलाडी काठमाडौँको विभिन्न क्लबमा अनुबन्धित भएको तर रिलिज पेपर नभएको भन्दै एपीएफको अफिसियलले खेल रोक्न अपिल गरेका थिए । खेल २३ मिनेट रोकियो ।
मोरङले रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो ।
यसैबीच ५४ मिनेटमा एपीएफले अग्रता लिन सफल भएको थियो । मोरङका गोलरक्षक किशोर गिरी अगाडि बढेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले फ्लिक गरी गोल गर्न सफल भए ।
२४औं मिनेटमा एपीएफका प्रविन स्याङतानको कडा प्रहार मोरङका गोलरक्षक गिरीले पञ्च गरेर फर्काए । ६६ औं मिनेटमा मोरङका डि एरियाबाट गरेको प्रहार एपीएफका खेलाडीले बचाए ।
खेलको म्यान अफ दी म्याच बिजेता टीम एपीएफका हरि कार्की भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच हुनेछ ।
बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैया नगद पाउँने छ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुने छ ।