काठमाडौं : पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार निधन भएको हो ।
अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा सारिएको थियो । अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उहाँले तीन दिनदेखि परिवारका सदस्यले बोलाउँदा प्रतिक्रिया जनाउन सक्नुभएको थिएन ।
अधिकारीको शुक्रबार साँझदेखि पिसाब रोकिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो । अस्पतालको धारणापछि अधिकारीको अवस्था सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेता सहभागी हुनुहुन्थ्यो ।
छलफलअघि मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट र पूर्वउपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य बामबेद गौतम ह्याम्स अस्पताल पुग्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिनु भएकाे हाे । अधिकारी १६ वर्षदेखि नै राजनीतिमा संलग्न भई क्रियाशील हुँदै आउनु भएको थियो । उहाँ लामोसमय पार्टीमा पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । भरतमोहन, दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बन्नुभयो । अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायतका विभागमा प्रमुखको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।
अधिकारी अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ
६ दशक राजनीतिमा सक्रिय नेता अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थाल्नुभयो । वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजना थियो । संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्व सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नुभयो । त्यसबेला पनि उहाँले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गर्नुभयो । अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।
पटकपटक सरकारमा रहेर उल्लेखनीय काम गर्नुभएका अधिकारीले पहिलाे पटक अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ ।
२०४७ मा संविधान मस्यौदा समिति सदस्य अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वा्चित हुनु भयो । अधिकारी मनमोहन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । ७० वर्ष पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अवकाश लिने नीतिबमोजिम उहाँले नेकपा एमालेको नवौँ महाधिवेशनबाट अवकाश लिनुभयो । देशकै मूर्धन्य अर्थशास्त्रीमा गणना हुने अधिकारी पटकपटक मन्त्री रहँदा चरित्र निष्कलंक र बेदाग रहनु भयो । पूर्वउपप्रधानमन्त्री अधिकारीको पत्नी र दुई छोरी हुनुहुन्छ ।
जनतासमाचारबाट साभार