इलाम : राजनीतिक संक्रमणको लामो अवधिमा देशैभरि स्थानीय तहमा विकास–निर्माण ठप्प हुँदा इलाम नगरपालिका भने हरितनगरको अवधारणासहित अघि बढेको थियो । पर्यटकीय पूर्वाधार विकासदेखि जनजीविकाका हरेक पक्षमा नगरको सोच पूर्वका अरू नगरभन्दा भिन्न लाग्थ्यो ।
पहाडकी रानी उपनाम पाएको जिल्ला सदरमुकामलाई सिंगार्न इलाम नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज दाहालसँग प्रस्ट खाका थियो । उनकै अगुवाइमा बनाइएका पूर्वाधार अहिले पनि नगरपालिकाको पर्यटन विकासका सारथि हुन् ।
मुलुककै पुरानो चियाबारी क्षेत्रमा ट्रेकिङ रोड, चियाबारीमा पोखरी, भ्युटावर, ठाउँ–ठाउँमा प्यागोडा शैलीको चौतारा निर्माणलगायत काममा दाहालले देखाएको तत्परता जोकोहीको मानसपटलबाट हटेको छैन । गौतम बुद्ध सभागृह र शीतभण्डारको काम पनि दाहालकै नेतृत्वमा भएका हुन् ।
इलामलाई टिकाउन हवाई मैदान चाहिन्छ भन्दै उनले सुकिलुम्बा विमानस्थल निर्माण गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए । नगरपालिकालाई प्लास्टिकमुक्त सहर बनाउने अभियान उनकै अगुवाइमा चलेको थियो । बुधबार हेलिकप्टर दुर्घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रहेका दाहालको निधन भएको खबरले इलाम शोकमग्न छ । ‘सुन्दर इलाम निर्माणका लागि अहोरात्र खटिएका दाहाल दुर्घटनामा पर्दा यी संरचनाले उनको याद झनै ताजा बनाइदियो,’ स्थानीय युवा विशाल लिम्बूले भने, ‘बजार क्षेत्रमा अनेकौं पूर्वाधारसँगै प्यागोडा शैलीको चौतारा निर्माण उनकै भिजन थियो ।’
स्थानीय सरकार गठनपछि पनि दाहालकै कार्यकालमा भएका योजनाअनुसार काम भइरहेको छ । ‘यो खबरले सहन नसक्ने पीडा बोध भएको छ,’ नगरप्रमुख महेश बस्नेतले भने, ‘हामीले दिने सच्चा श्रद्धाञ्जली भनेकै उहाँले कल्पना गरेका कामको निरन्तरता र पूर्णता हुनेछ ।’
घटना सार्वजनिक भएसँगै नगरपालिकामा लामो समय सँगै काम गरेका कर्मचारी भावविहवल छन् । दाहालले २०६५ माघ ५ देखि २०६९ वैशाख ३१ सम्म इलाम नगरपालिकाको बागडोर सम्हालेका थिए । ‘चार वर्ष सहकार्य गर्दा युवराज सरको काम गर्ने तौरतरिकाले प्रभावित बनाएको थियो,’ नगरपालिकाका शाखा अधिकृत राम शाहले भने, ‘उहाँलाई काम गर्न रकमको चिन्ता कहिल्यै हुँदैनथ्यो । काम गर्नुपर्छ, स्रोत आफैं जुट्छ भन्ने उहाँको मान्यता थियो ।’ कान्तिपुर दैनिकबाट