संविधान संसोधन नभएसम्म प्रदेश १ को नाम ‘किरात प्रदेश’ : मन्त्री आङ्बो (भिडियो सहित)

एकतप्पा (इलाम) :  प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) ले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने बताएका छन् । सहमतिका आधारमा प्रदेशको नाम र राजधानी टुङ्ग्याउने कसरत भइरहेको बताउँदै उनले हिउँदे अधिवेशनबाट टुङ्गो लाग्ने बताए ।

इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पाको रुपाटारमा आयोजित सिद्धकिरात हाङसाम युमा माङहिम (मन्दिर) को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङबोले सम्भव भएसम्म सहमतिमा र नभए लोकतान्त्रिक विधिबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याउने बताए ।

मन्त्री आङ्बोले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न उपयुक्त हुने बताए  । तत्काल ‘लिम्बुवान प्रदेश’ सम्भव नभएको बताउँदै मन्त्री आङ्बोले किरात प्रदेश नै उपयुक्त हुने धारणा राखे । ‘यदि देशमा १० प्रदेश भएको भए यो क्षेत्र लिम्बुवन नै हुने थियो । तर देश ७ वटा प्रदेशमा गइसकेकाले लिम्बुवान सम्भव छैन’ आङ्बोले भने, ‘संविधान संसोधन नगरीकन लिम्बुवान सम्भव छैन । अहिले संविधान संसोधन  हुने स्थिती पनि छैन ।’

उनले अरुणपूर्व नौ जिल्ला छुट्टै प्रदेशका रुपमा  कायम नभएसम्म अथवा संविधान संसोधन गरेर पुनर्संरचना नभएसम्म किरात प्रदेश स्वीकार्न आग्रह समेत गरे । ‘अरुणपूर्व लिम्बुवान नबन्दासम्म यो क्षेत्र किरात प्रदेश नै उपयुक्त हुन्छ’ मन्त्री आङबोले भने, ‘किरात जाति मात्र नभएर महत्वपूर्ण संस्कृति, इतिहास, पहिचान र सभ्यता पनि हो ।  सभ्यताको सम्मान गर्नकै लागि किरात प्रदेश राख्दा उपयुक्त नै होला ।

प्रदेशको नाम कुनै न कुनै रुपमा पहिचानको आधारमा राख्नकै लागि अहिलेसम्मको समय खर्चेको बताए । ‘यदि कोशी वा सगरमाथा राख्ने भए प्रदेशसभा गठन भएको ३ महिनामा नै प्रदेशको नाम राखिने थियो । तर पहिचानका आधारमा नै नामाङ्करणका लागि अहिलेसम्म सहमतिको कोशिस भइरहेको छ ।’

कार्यक्रममा प्रदेश १ का सांसद धिरेन्द्र शर्मा (रमण), फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती राई (सरु) लगायतले सम्बोधन गरेका थिए ।

यसैबीच माङहिमको उद्घाटन भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ दिङदेन आत्मानन्द लिङदेन सेइङ र सङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको हस्तवाहुलीबाट उद्घाटन भएको थियो । कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ दिङदेन आत्मानन्द लिङदेन सेइङबाट आशिर्वाचन समेत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार