इलाम : इलाममा सञ्चालन हुन लागेको पाचौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । जिल्लामा हरेक वर्ष महासंग्रामको रुपमा माईभ्याली फूटबल क्लबले आयोजना गर्ने गोल्डकपको धमाधम तयारी भइरहेको हो ।
२६ फागुनदेखि ५ चैतखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम धमाभम भइरहेको छ । करिब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भईरहेको छ ।
मैदानमा पक्की प्यारापिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरको आयोजक आयोजक माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चम्जोङले बताए । मैदानको माथिल्लो भागमा माटोको प्यारापिट भएपनि तीनतिरको भागमा वर्सेनि बाँसको प्यारापिट निर्माण गर्नुपर्ने बाध्यता छ । श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले आयोजकलाई आर्थिक भार बोझिलो बन्दै गएको छ । जसका कारण हरेक वर्ष प्यारापिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ ।
१ हजार ८ सयभन्दा बढी बाँस किनेर अस्थायी प्यारापिट बनाउँदै गरेको आयोजक क्लबले जनाएको छ । झण्डै अढाई लाख रुपैयाँ खर्चेर बाँस किनिएको छ । प्यारापिट बनाउन २ लाख ९५ हजार रुपैयाँमा ठेक्का दिइएको आयोजकले बताएको छ । प्यारापिट निर्माणमा वर्षेनी करिब ८ लाखौं खर्चिदै आएको छ । विगतका चार वर्षमा बाँसको प्यारापिट निर्माणमा मात्र ३३ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।
एकपटक प्रयोग भएको बाँस अर्को पटक काम नलाग्ने हुँदा बर्सेनि ठूलो परिमाणमा किन्नुपर्ने बाध्यता छ । प्रतियोगिता सकिएपछि लाखौं खर्चेर किनेको बाँस कौडीको मूल्यमा बेच्ने गरेको आयोजकको भनाइ छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सूचीमा देशकै उत्कृष्ट ३ मा परेको माइभ्याली गोल्डकपको यस संस्करणमा नेपालसहित हङकङ र भारतका टिम सहभागी हुँदैछन् । प्रतियोगितामा नेपालका ३ विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित मनाङ–मस्र्याङ्दी, थ्रिस्टार, झापा–११ र आयोजक क्लब सहभागी हुनेछन् । त्यस्तै विदेशी टिममा हङकङ, क्यामरुन र दार्जिलिङको फुटबल क्बल पनि प्रतियोगितामा सहभागी हुनेछन् ।
गोल्डकपको विजेताले नगद ७ लाख रुपैयाँसहितको ‘मेयर्स प्राइज’ र र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा म्यान अफ दि म्याचले पनि नगद पुरस्कार पाउनेछन् । सबै पुरस्कारका लागि १४ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।