एनसेल विस्फोटका शंकास्पद १६ जना समातिए

काठमाडौं : मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विस्फोट र आगजनीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

काठमाडौं उपत्यकाबाट पक्राउ परेका ६ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

‘कसले विस्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछिमात्रै यकिन हुन्छ । अहिले नै यसै भन्न सकिन्न’–प्रवक्ता सुवेदीले भने ।

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विस्फोट गराएर क्षति पुर्‍याएको थियो ।

ललितपुरको नख्खुस्थित टावरमा भएको विस्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

उनले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनीमात्रै भएको जानकारी दिए ।

उपत्यकाबाहिर कन्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ ।

काठमाडौं, कमलपोखरीमा फेलापरेको बमलाई भने डिस्पोज गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले शनिबार उपचाररत् घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारबाही गर्ने आश्वासन दिएका छन् ।

उक्त घटनापछि सुरक्षा व्यवस्थामासमेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।

जाँचलाई साविकभन्दा बढाएको, सादा पोसाकमासमेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद् पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

यस्तै शंकास्पद गतिविधिलाईसमेत प्रहरीले निगरानी थालेको छ ।

विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमासमेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार