लाप्चा जातिको स्मृतिग्रन्थ लोकार्पण

  नयाँ बुलन्द  52 पटक हेरिएको

इलाम : इलामको श्रीअन्तुमा लाप्चा स्मृतिग्रन्थको लोकार्पण भएको छ ।

समाजसेवी, लाप्चा जातिका अग्रज व्यक्तित्व स्वर्गीय जगतबहादुर लाप्चाको स्मृतिमा ‘आथिङ काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ’ शनिबार विविध कार्यक्रमका साथ लोकार्पण गरिएको हो ।

लाप्चाका छोरा बुद्धकाजी लाप्चा लगायतको सक्रियतामा स्मृतिग्रन्थ प्रकाशन गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

बुद्धकाजी लाप्चाका अनुसार, यो स्मृति ग्रन्थमा स्व. जगतबहादुरले गरेका सामाजिक सेवामूलक कार्यहरु, उनको जीवनी लगायतका पक्षहरुलाई समेटिएको छ । इलाममा मात्र बसोबास रहेको लोपोन्मुख लाप्चा जातिको देश मै एउटा मात्र सङ्ग्रहालय इलामको श्रीअन्तुमा रहेको छ ।

सङ्ग्रहालयको स्थापना स्व. लाप्चाले नै गरेको बताइएको छ  । उहाँले आफ्नै घरमा लाप्चा जातिका विभिन्न सांस्कृतिक महत्वका सामाग्री संकलन गरेर सङ्ग्रहालय जस्तै बनाएर राखेका थिए ।

लाप्चा जातिले प्रयोग गर्ने परम्परागत सामाग्रीहरु अहिले पनि सुरक्षित रहेको र इच्छुकले हेर्न सक्ने छोरा रमेशकाजी लाप्चाले जानकारी दिए ।

घरमा सजाएर राखिएका ती सामानलाई अहिले स्व. लाप्चाको निधनपछि भने श्रीअन्तुकै उत्तरेमा सरकारी सङ्ग्रहालयका लागि भवन निर्माण गरी राखिने काम भइरहेको  छ । तर हालसम्म विविध समस्याका कारण त्यो भवन निर्माण सम्पन्न हुन नसकेको स्थानीयको भनाइ छ ।

ग्रन्थ प्रकाशन समितिका संयोजक टिकाबहादुर लाप्चा छन् । लोकार्पण कार्यक्रम सूर्योदय नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको आयोजनामा भएको थियो ।

कार्यक्रममा नगर प्रमुख रणबहादुर राई, रोङ गाउँपालिकाका प्रमुख शम्शेर राई, प्रा.ज्ञ. कोमल निरौला, इतिहासविद् युद्धप्रसाद वैद्य लगायतले स्मृतिग्रन्थको लोकार्पण गरेका थिए ।

त्यसै कार्यक्रमका अवसरमा आयोजकले नगरप्रमुख रणबहादुर राई र इतिहासविद् युद्धप्रसाद वैद्यलाई सम्मान पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार