धनकुटा : मेहनतअनुसारको प्रतिफल नपाएपछि धनकुटाका कृषक चियाखेतीबाट विस्थापित हुन थालेका छन् ।
सुरुमा निकै सम्भावना देखेर चियाखेतीमा हौसिएकाहरु एकाएक निराश हुँदै बाहिरिन थालेपछि चियाबगानहरु झाडीमा परिणत हुन थालेका हुन् ।
एक दशकअघि करिब १९ हजार रोपनी क्षेत्रफलमा चिया खेती हुने धनकुटामा अहिले भने यो क्षेत्र घट्दो क्रममा छ ।
मेहेनत र लगानी अनुसार मूल्य नपाउनु, कामदारको अभाव तथा बैंकहरुको शून्य लगानीका कारण कृषकहरु यसबाट विकर्षित बन्दैछन् ।
धनकुटाको हिले, पाख्रीबास, मूर्तीढुंगा, भीरगाउँलगायतका स्थानमा देखिने ढकमक्क चियाबगानहरु अहिले क्रमशः हराउन थालेका छन् ।
बरु चियाका बगानहरु झाडीमा रुपान्तरित हुन थालेका छन् ।
चियाखेतीको क्षेत्र विस्तारित हुनु त कहाँ हो कहाँ भएका चियाबगानहरु पनि कटौती भइरहेका छन् । पाख्रीबासका कृषक मदन राई चियाखेतीबाट विस्थापित हुनुको बाध्यता यसरी सुनाउँछन् ।
सरकारले चियाखेतीको प्रवद्र्धन र व्यवस्थापन गर्ने उद्देश्यले वि.सं. २०५७ सालमा राष्ट्रिय चिया नीति ल्याएको थियो ।
जसमा चिया खेतीको क्षेत्रलाई व्यापक रुपमा विस्तार गर्दै चियाको उत्पादन बढाउने लक्ष्य राखिएको थियो ।
तर झण्डै दुई दशक बित्न लाग्दा पनि चिया खेतिको क्षेत्रफल २७ हजार ६ सय ८८ हेक्टर भन्दा बढ्न सकेको छैन ।
जबकी नीति जारी गरेको ५ वर्षभित्रमै चियाखेतीको क्षेत्रफल ४० हजार ८ सय ७५ हेक्टर पुर्याउने लक्ष्य राखिएको थियो ।
उता बर्षेनी चियाका लाखौं बिरुवा वितरण गर्दै आएको हिले स्थित चिया बिस्तार आयोजनाका प्रमुख राम एकवाल यादव भने किसानहरु विरुवा लिनको लागि आउन छाडेको गुनासो गर्छन ।
चियाखेतीलाई प्रोत्साहन र बजारको व्यवस्थापन नमिलाउँदा कृषकहरु यसबाट हरेश खान थालेका छन् ।
यसतर्फ कृषि क्षेत्रसँग सम्बन्धित कैयौँ सरकारी निकायले ठोस प्रयास गर्न सके किसानहरुमा देखिएको नैराश्यताको सम्बोधन हुने थियो कि ?