काठमाडौं : पश्चिमी वायुको प्रभावले शनिबार देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए ।
‘अझै एक/दुई दिन मौसम पूर्णरुपमा खुल्ने छैन र घाम पनि खासै लाग्ने छैन’–श्रेष्ठले भने ।
काठमाडौं उपत्यकामा शनिबार हल्का वर्षा भएको छ ।
बुधबार बेलुका सुदूरपश्चिम भित्रिएको न्यून चापीय प्रणालीको प्रभावले बिहीबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ ।
शनिबार राति देशको पश्चिमी र मध्य भू–भागमा आंशिक बदली रही मध्यपहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, आइतबार देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली हुनाका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सोमबार पश्चिमी भू–भागलगायत पूर्वी तथा मध्यपहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं अधिकतम् तापक्रम २१.७ डिग्री र न्यूनतम् तापक्रम ८.४ डिग्री सेल्सियस रहेको छ ।
सबैभन्दा बढी विराटनगरको अधिकतम् तापक्रम २५.० डिग्री सेल्सियस रहेको छ ।