साढे २३ किलो सुन बरामदः कहाँबाट आयो सुन ?

कैलाली : कन्चनपुरका दुई स्थानबाट बिहीबार प्रहरीले २३ किलो ६०० ग्राम सुन बरामद गर्‍यो । सुनसँगै दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

तर, पक्राउ गरिएका व्यक्ति र समातिएको सुन सार्वजनिक नगर्दा प्रहरीमाथि फेरि प्रश्न उठ्न थालेको छ ।

कन्चनपुरको पुनर्वास नगरपालिका–२, दशरथ बस्तीबाट १८ किलो र शुक्लाफाँटा नगरपालिका–११ बाट ५ किलो ६०० ग्राम सुन बरामद गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय कैलाली र कन्चनपुरको संयुक्त टोलीले बिहीबार सुन बरामद गरेको हो ।

घरभित्र कोठामा खाल्डो खनेर राखेको अवस्थामा १०८ ओटा सुनका बिस्कुट भेटिएको थियो ।

यस प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीजवान सुरज तिरूवा र उनका दाइ लक्ष्मण तिरूवा पक्राउ परेका छन् ।

उनीहरुले दिएकोे बयानका आधारमा कन्चनपुरको दुई स्थानबाट सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए ।

तर, बरामद गरिएको सुन भने प्रहरीले अझै सार्वजनिक गरेको छैन । अहिलेसम्म यस प्रकरणका मुख्य व्यक्ति लक्ष्मण तिरूवा भएको बताइएको छ ।

तर, भारतमा सामान्य जागिरमा रहेका लक्ष्मणसँग कहाँबाट यत्रो परिमाणको सुन आयो भन्ने खुलेको छैन ।

बरामद गरिएको सुनमध्ये १८ किलो सुन लक्ष्मणका भाइ तथा नेपाल प्रहरीका जवान सुरज तिरुवाको ससुराली घरमा फेलापरेको हो भने ५ किलो ६०० ग्राम उनीहरुको घरबाट बरामद गरिएको हो ।

लक्ष्मणले उक्त सुन भारतबाट दुई महिनाअघि ल्याएको र भाइसँग मिलेर लुकाएको प्रहरीले जनाएको छ ।

सुन लुकाएपछि सुरज पुनर्वास नगरपालिकामा रहेको ससुरालीमा समय–समयमा जाने गरेको भएपनि सुनकाबारेमा कुनै जानकारी नदिएको उनका ससुरा गंगाबहादुर विश्वकर्माको भनाइ छ ।

उक्त सुनबारे जानकारी भएकाहरुलाई मिलाउने र बेच्नेक्रममा कुरा नमिलेपछि सूचना चुहिएको प्रहरी स्रोतले बताएको छ ।

नेपाल हुँदै उक्त सुन भारत गएको र भारतबाट लक्ष्मणले नेपाल ल्याएको हुनसक्ने बताइएको छ ।

सुनसहित पक्राउ परेका तिरुवा दाजुभाइलाई भने थप अनुसन्धानका लागि शुक्रबार राजस्व कार्यालय कोहलपुर पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार