नेपालीमा काउछो भनेर चिनिने यो जडीबुटीको वैज्ञानिक नाम मक्युना प्रुरिन्स हो । संस्कृतमा यसलाई कपिकच्छु या आत्मगुप्ता भनिन्छ ।
नेपालको तराईदेखि चार हजार पाँच सय फिटसम्मको उचाइ भएको पहाडी क्षेत्रमा जताततै पाइन्छ । लहराजस्तो देखिने यसको फल झुप्पामा फल्छ ।
यसको फल सिमीजस्तो आकारको २–४ इन्च लामो र ०.५ इन्च चौडा हुन्छ । कोसेदार फलको बाहिर निकै झुस हुन्छ । फलभित्र सिमीजस्ता १–२ से.मी. व्यासका, सेता रंगका, चिल्ला, ५–६ वटा बिउ हुन्छन् ।
यसको रस मधुर तिक्त हुन्छ भने र दोषकर्म पित्तवर्धक छ । यसको मुख्य कार्य बलबर्धक, मांसपेशी बृद्धि गर्ने, गुणवान शुक्र उत्पादन गर्नु हो । यसमा प्रमुख रसायनिक तत्वमा डोपा, सेरोटोनिनलगायत प्रोटिन मिनरल पाइन्छन् । यसको मुख्य उपयोग धातुक्षय, यौनदुर्बलताजन्य कमजोरी, कम्पवात (हात काम्ने वातरोग) आदिमा हुन्छ । काउछोको बीज चूर्ण (बिउको धुलो) ३–६ ग्राम बिहान–बेलुका सख्खर, मह वा दूधको तरसँग मिलाएर खान सकिन्छ । बजारमा बानरी गुटिका, शक्तिवद्र्धक योग, वाजीकर शक्तिका रूपमा पाइन्छ ।
कुरिलो
कुरिलोको वैज्ञानिक नाम स्पारगस रेसिमसस हो । कुरिलोमा अत्यधिक मात्रामा पोषणतत्त्व पाइन्छ । स्वास्थ्यवद्र्धक र शक्तिवद्र्धक रूपमा लोकप्रिय छ । कुरिलोको जरामा डाइस्याकराइड्स, स्टार्च, प्रोटिन र डी–ग्लुकोज पाइन्छ । यसमा सताभरिन, ट्यानिन, अल्कोलोइड्स स्यापोनिन पाइन्छ । आयुर्वेद चिकित्सामा कुरिलोको जरा स्नायु प्रणालीको समस्यामा प्रयोग गरिन्छ । यो रसायन पनि हो । यसले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति बढाउँछ । यसको जराको रस निकालेर चूर्ण बनाएर अथवा पकाएर क्वाथका रूपमा प्रयोग गर्न सकिन्छ । चूर्ण बनाएर दूधमा घोली खानुपर्छ । रसायनका रूपमा काम गर्ने र शरीरका कोषहरूमा पोषण र सञ्चार गर्ने हुँदा धातुक्षय, यौनदुर्बलता आदिमा फाइदा गर्छ । यसको चूर्ण ३–६ ग्राम, स्वरस १०–२० मिलिलिटर र क्वाथ ५०–१०० मिलिलिटर प्रयोग गर्न सकिन्छ ।
अश्वगन्धा
यसको वैज्ञानिक नाम बिथानिया सोम्निफेरा हो । यो सोलानेसी परिवारको वनस्पति हो । यो यौनवद्र्धक, शक्तिवद्र्धक र शुक्रबद्र्धक रूपमा लोकप्रिय छ । यसको गन्ध घोडाको जस्तो हुने भएकाले संस्कृतमा वजीगन्धा पनि भनिन्छ । यसको जरामा बिथानोलाइट्स, सिउडोट्रोपिन र एनाफेरिनलगायत विभिन्न सक्रिय रासायनिक तत्त्व पाइन्छ । यो नेपालमा तराईदेखि भित्री मधेस र तल्लो पहाडी भेग हजार मिटरसम्मको उचाइमा जताततै पाइन्छ । यो दुईदेखि पाँच फिट अग्लो र हाँगाबिँगा भएको वनस्पति हो । पात दुईदेखि चार इञ्च लामा हुन्छन् । जरा ६ इन्चदेखि एक फिट लामा तथा फुस्रा र सेता हुन्छन् । यसले रसादि सबै धातुलाई पोषण प्रदान गर्छ । यसको उपयोग रसायन, वाजीकरण, बाथव्याधि, अनिद्रा, दुर्बलता, स्नायुहरूलाई पोषित गर्ने चिन्ता र नैराश्यतामा पनि उपयोगी छ । लिंग शिथिलता र यौन दुर्बलतामा यसको धुलो र तेल उपयोगी हुन्छ । तीनदेखि पाँच ग्राम चूर्ण दूधसँग सेवन गर्न सकिन्छ । तेल आवश्यकतानुसार प्रयोग गर्न सकिन्छ ।
नोट : यी आयुर्वेदिक औषधि सेवन गर्नुअघि मात्रालगायतका विषयमा चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।