जनकल्याण माविको ५२ औं वार्षिक उत्सव, ९ जना शिक्षासेवी सम्मानित

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ एकतप्पास्थित जनकल्याण माध्यमिक विद्यालयको ५२ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

विद्यालय स्थापना भएको ५१ वर्ष पूरा गरी ५२ वर्ष प्रवेशको अवसरमा बुधबार र विहीबार खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता र व्यक्तित्व सम्मान कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको छ ।

वार्षिक उत्सवका अवसरमा विद्यालय स्थापनामा महत्वपूर्ण योदगदान गरेका नौ जनालाई विद्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका संस्थापकदेखि निवर्तमान अध्यक्षहरु ८ जना र एकजना भूतपूर्व शिक्षककी धर्मपत्नी सम्मानित भएका हुन् । तीमध्ये ५ जनालाई मरणोपरान्त सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्वर्गीय गजराज योङहाङ, त्यसपछिका अध्यक्षहरु स्वर्गीय चन्द्रदास आले, स्वर्गीय हर्कसिंह योङहाङ, स्वर्गीय रामप्रसाद कार्की, नेत्रसिंह लिम्बू, गोविन्द कोइरालान, स्वर्गीय वेदनारायण आले मगर र गलिन्द्रबहादुर योङहाङ रहेका छन् । त्यस्तै सोही विद्यालयमा लामो समय शिक्षण गरेका स्वर्गीय शिक्षक पदमसुन्दर कार्कीका धर्मपत्नी लुना कार्कीलाई समेत सम्मान गरिएको छ ।

उनीहरुलाई प्रदेश १ का सांसद धिरेन्द्र शर्मा (रमण) ले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

त्यस्तै वार्षिक उत्सवमा आयोजित अन्तरविद्यालयस्तरीय गायन प्रतियोगितामा सिंहदेवी मावि फाकफोकथुम-७ एकतप्पाकी कुमारी बस्नेत प्रथम, जनकल्याण मावि फाकफोकथुम-७ एकतप्पाका भक्त लिम्बू द्वितीय, जानकी मावि फाकफोकथुम-७ एकतप्पाका समीर थापा तृतीय र जनकल्याण मावि फाकफोकथुम-७ एकतप्पाका सन्दीप लिम्बू सान्तावना भए ।

नृत्यतर्फ सिंहदेवि मावि फाकफोकथुम-७ एकतप्पा प्रथम, जानकी मावि फाकफोकथुम-६ द्वितीय, जनताकल्याण मावि फाकफोकथुम-७ एकतप्पा तृतीय र चिल्ड्रेन इन्भाइरोमेन्ट बोर्डिङ स्कूल फाकफोकथुम-७ सान्तवना भए ।

फूटबलमा माध्यमिक विद्यालय छात्रातर्फ सिंहदेवी मावि फाकफोकथुम-७ एकतप्पा विजेता र जानकी मावि फाकफोकथुम-६ उपविजेता बन्यो । उत्कृष्ट खेलाडी सिंहदेवी मावि फाकफोकथुम-७ एकतप्पाकी रमिला लिम्बू घोषित भइन् ।

त्यस्तै आधारभूत विद्यालयर्फ छात्र फूटबल प्रतियोगितामा मिक्तोक आधारभूत विद्याय विजेता र जानकी माध्यमिक विद्यालय उपविजेता बन्यो । उत्कृष्ट खेलाडी मिक्तोक आधारभूत विद्यालय फाकफोकथुम-७ का बलबीर लिम्बू घोषित भए ।

विजेता तथा उपविजेताहरुलाई प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण) ले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको शैक्षिक अवस्था सुधारका विभिन्न योजनाका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । उनले वर्तमान विज्ञान र प्रविधिको युग भएकाले त्यही प्रविधि अनुसार शिक्षा क्षेत्रमा समेत सुधार गर्दै लैजानुपर्ने बताउँदै त्यसमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले विद्यालयको तर्फबाट पेश गरिएको मागपत्र बुझ्दै प्रदेश सरकामा आवश्यक पहल गर्ने आश्वासन दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंचबहादुर योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शर्मासहित नेपाल लोकतान्त्रिक लिम्बू संघका केन्द्रीय सदस्य छत्रबहादुर योङहाङ, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गलेन्द्रबहादुर योङहाङ र गोविन्दबहादुर कोइराला, जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठ लगायतले शुभकामना र बधाई मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक भीमबहादुर निरौलाले गरेका थिए ।

कार्यक्रमको उद्घाटन बुधबार फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार