पवित्रहाङमा गोल्डकपको उपाधि माङसेबुङ युथ सोसाईटीलाई

लगातार तीन वटा संस्करणको विजेता बन्‍न सफल

फाइल तस्वीर

माङसेबुङ : डिफेन्डिङ च्याम्पियन माङसेबुङ युथ सोसाइटी इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसेबुङमा आयोजित पवित्रहाङमा महिला गोल्डकप नवौं संस्करण फूटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

माङसेबुङ खेलमैदानमा विहीबार सम्पन्‍न फाइनलमा लेटाङ फुटबल क्लब लेटाङ मोरङलाई टाईब्रेकरमा ३-१ ले पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । जितसँगै माङसेबुङले पवित्रहाङमा महिला गोल्डकपको लगातार तीन संस्करणको विजेता बन्ने पहिलो भाग्यशाली टिम बनेको छ । त्यो पनि तीनैपटक टाइब्रेकरमा माङसेबुङ विजेता बनेको थियो ।

माङसेबुङले यसअघिको सातौं र आठौं संस्करण लगातार जितेको थियो । गतवर्षको आठौं संस्करणमा पनि माङसेबुङले लेटाङ फुटबल क्लब लेटाङ मोरङलाई टाईब्रेकरमा नै २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । २०७३ को सातौं संस्करणमा भने माङसेबुङ युथ सोसाइटीले न्युस्टार क्लब किर्तीपुर मोरङलाई टाइब्रेकरमा नै ५-३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

फाइलनको निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरका आधारमा विजेता निर्धारण गरिएको थियो । दुवै टिमले खेल अवधिभर आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलअवधिभर दुबै टीमले गोल गर्ने थुप्रै अवसरहरु पाएपनि गोलमा परिणत हुन नसकेपछि खेल टाइब्रेकरमा पुगको थियो ।

ट्राईब्रेकरमा लेटाङका एक जनाले मात्र गोल गर्न सफल बनेका थिए । माङसेबुङले भने ३ गोल गर्न सफल हुँदै उपाधि जितेको हो ।

जितसँगै माङसेबुङले नगद ६३ हजार एक सय ६३ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता लेटाङले भने नगद ३५ हजार एक सय ६३ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र मा चित्त बुझायो । विजेता तथा उपविजेतालाई पुरस्कार भने शुक्रबार किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङलेनको ६३ औं जन्मोत्सवको उद्घाटनका प्रमुख अतिथी संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे लिम्बूको हस्तवाहुलीबाट वितरण हुनेछ ।

गत २३ माघदेखि सञ्‍चालित प्रतियोगितामा इलामझापा, मोरङ र सुनसरीका ८ महिला टीमको सहभागीता थियो । प्रतियोगितामा माङसेबुङ युथ सोसाईटी माङसेबुङ इलाम, शिवसतासी स्पोर्टिङ क्लब दुधे झापा, कन्काई ११ झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतारा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति, खदम स्पोर्टीङ क्लब मोरङ, लेटाङ फूटबल क्लब मोरङ र माङसेबुङ खेलकुद विकास समिति इलामको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार