राष्ट्रवादको नारा !

  अन्वेश थुलुङ राई
0 Shares

राष्ट्रवादको विषयमा भारतीय स्टेन्ड अप कमेडियन कुनाल कम्राले आफ्नो स्टेन्ड अप कमेडीमा भनेका थिए । जब देशमा राष्ट्रियताको कुरा आउँछ तब मानिसहरु सीमा लडिरहेका आर्मीका कुरा गर्छन् । छिमेकी नेपालको पनि प्रवृत्ति यहि हो । हामी पनि राष्ट्रियताको कुरा आएपश्चायत आफ्ना विचारहरु सीमामा पु¥याइहाल्छौँ । कि दशगजामा, कि बुद्ध वाज वर्न इन नेपाल । राष्ट्रियताको अर्को जग छ हिमाल (विशेष सगरमाथा), वीर गोर्खाली, नालापानी युद्ध अनेकन अनेकन । एकप्रकारले भन्ने हो भने राष्ट्रवाद भनेको जयजयकार रहेछ । ग्लोरीफाई हुन्छ नी । इतिहासको जयजयकार ।

जेएनयु पूर्वअध्यक्ष कन्हैया कुमार भन्छन् । सिर्फ सीमामा लड्ने नागरिक मात्र राष्ट्रियतालाई सम्हालिरहेका हुँदैनन् । आफ्नो जिम्मेवारी लिएर काम गरिरहेका किसानहरु पनि जमिनमा श्रम गरेर देशलाई बचाई रहेका हुन्छन् । यसमा अझ थपौँ । विदेशमा श्रम गरिरहेका नेपालीहरुले पठाएको श्रममा पनि छ राष्ट्रियता । हरेक श्रमजिवी हातहरु, सीपहरु, कर्महरुमा छ राष्ट्रियता । कर्मचारीले जनताको सेवा इमान्दारीताका साथ गर्छ भने त्यहाँ पनि छ । न्यायपालिकाले नागरिकलाई आफु नागरिक हुनुको अनुभुति गराउँछ भने त्यहाँ पनि छ । शिक्षकहरु एक उन्नत पुस्ता तयार गर्न तत्पर हुन्छन् भने त्यहाँ पनि छ राष्ट्रियता । व्यापारीहरु आफ्नो श्रमले आर्जेको कमाईबाट राज्यलाई कर तिर्छन् भने । नेताहरुले साँच्चिकै जनताको सेवा गर्छन् भने । नागरिकहरुले आफ्नो हातको फोहोर लगेर डस्टबिनमा हालिदिन्छन् भने त्यहाँ पनि छ राष्ट्रियता । सिर्फ सेना सीमामा अकेला राष्ट्रियताको झण्डा फरफराउँदैन । उसलाई झण्डा फरफराउन सहयोग गर्ने हरेक हातहरु राष्ट्रियताका पक्षधर हुन् । के यी पक्षहरुलाई अन्देखा गरेर हुन्छ ? के उनीहरु चैँ राष्ट्रका लागि लडिरहेका छैनन् ?

अनि सिर्फ जयजयकारमा राष्ट्रवाद देख्ने हामीमाझ देशमा भईरहेको जातिय, वर्गिय उत्पिडन सम्बन्धीको सगरमाथाको गहिराई हेर्ने तागत छ कि छैन ? भ्रष्टाचार त चोमोलुङ्गमा (सगरमाथा) माथि कहिले ह्वाइड वडी, कहिले तेतिस किलो सुन बोकेर बादलमा हराउँछ । एकप्रकारले भन्ने हो भने भ्रष्टहरुको उचाई एभरेष्ट भन्दा कता हो कता अग्लो छ । राष्ट्रवाद भनेको सिर्फ जयजयकार मात्र हैन । स्वाभीमान पनि हो । अनि यो स्वाभिमान बन्नका लागि म अबको लागि राष्ट्र कहलाउन लायक भएँ कि भइन भन्ने पनि हुन्छ । इतिहास मुला के हो भने बुद्ध नेपाल अनि इन्डिया जन्मनुभन्दा अगाडी जन्मिसकेका थिए । र बुद्ध जहाँ जन्मेका, घुमेका हुन् त्यसको स्थान पहिलेपनि र अहिलेपनि यथास्थानमै छ । नालापानीमा हामी लडेपनि हारेका नै थियौँ । रिट्रिटलाई जितेको मान्न सकिँदैन । डा.प्रेमसिंह बस्नेत आफ्नो पुस्तक नेपालको सैनिक इतिहास लिगलिगकोट देखि वर्तमान नेपालसम्ममा लेख्छन् । नालापानीको युद्धमा हामी हारेका थियौँ । यो नाकावन्दीलाई किर्तिपुर विजय अभियानसँग तुलना गरौँ न । किर्तिपुरमा पनि नाकावन्दी भएको थियो तर त्यसको आधार हामीले के मान्ने ? पृथ्वीनारायण शाहले आफ्नो ज्यान झण्डै गुमाए किर्तिपुरमा । नाकावन्दी एउटा सैनिक रणनिति हो । आहुतीकै एक लेखमा सायद होला मैले पढेको । जुन समय महिलालाई सेना बनाउने स्थिति नै थिएन त्यसबेला ती नालापानीमा लड्ने महिला र केटाकेटी को थिए ? उनीहरु तत्कालिन नालापानीका गोर्खाली सेनाहरुको यौन अभिलाषालाई मेटाउन प्रयोग भएका महिलाहरु हुनसक्छन् उनी लेख्छन् । तब हामीले नालापानीको गौरब गर्दै गर्दा यी कुराहरुलाई मेटाएर गौरब गर्न सक्छौँभने ती आफ्ना कुरा रहे । वीर गोर्खालीको विषयमा अर्को लेखमा बिस्तृत छलफल गरौँला ।

अहिले ज्यादै नै पपुलर बनिरहेको छ फेसबुकमा यस्ता राष्ट्रियताका गौरवगाथाहरु । जो हरिभक्त कटुवालका शब्द सापट लिँदा मरेकाहरुको इतिहासबाट गोताखोरी गरिएको छ । हो हुनसक्छ हामी जहाँ आइपुगेका छौँ त्यहाँ गौरव गर्ने ठाउँ त अवश्य होलान् । सडक, शिक्षा, रोजगारी आदिको पहुँच हाम्रो पुस्ताले हाम्रै अघिल्लो पुस्ता भन्दा राम्रो भेटेको होला । पाएको होला । हो हुनसक्छ मैले मेरो बाजे भन्दा राम्रो शिक्षा पाएँ । बाजेभन्दा राम्रो सडक पाएँ । संसारसँग मेरो सम्पर्कमा मेरो पुस्ताले देखेको एक्काइसौँ शताब्दी मेरो बाजेको बिसौँ शताब्दीभन्दा सुन्दर छ । यस्तरी सकारात्मक हुँदा पनि मिल्छ । भन्न मिल्छ विश्वको दोस्रो पानीको स्रोतको धनी देश हो नेपाल । भन्न मिल्छ हामी स्वतन्त्रता दिवस मनाउँदैनौँ । भन्न मिल्छ विश्वको सर्वोच्च शिखर नेपालमा पर्छ तर यति भन्दै गर्दा हामी गरिब छौँ भन्ने कुरा पनि बिर्सन मिल्दैन । हामी वर्गिय, जातिय विभेदलाई अझै पनि सामाजिक व्यवस्थापनको दायरामा ल्याउन सकिरहेका छैनौँ । देशमा भइरहेको भ्रष्टाचारको बारेमा देख्दा देख्दै अन्देखा गर्नु परेको छ । यी पनि बिर्सन मिल्दैन । स्वाभिमान गर्ने आफ्नो ठाउँ होला तर फिल्म न्युटनमा भनेजस्तै स्वाभिमानको अभिमान चैँ अलि नपचेको कुरा भयो । स्तुति गायनले मात्र देश चल्दैन । स्वाभिमानको लागि प्रश्नहरु आवश्यक छन् । नकारात्मक हुनु आफैँमा सदैव नराम्रो कुरा हैन । हामीले अव्यवस्थाप्रति प्रश्न उठाउन आवश्यक छ । अन्त्यमा फिल्म लाइफ अफ पाईमा भन्छ ‘‘म मारिन्छु भन्ने डरको शंकाले म जिवित थिएँ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार