सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा

काठमाडौं : सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् ।

रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयासस्वरुप सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको जनाएको छ ।

सरकारले ‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ ।

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले सरकारको उद्देश्य बेरोजगार भत्ता दिनु नभएर रोजगारी दिनु भएकाले सकेसम्म सबैलाई रोजगारी दिनेगरी अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचीकृत गराउनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् रहने सबै सूचना केन्द्रमा त्यस स्थानीय तहमा रहेका रोजगारदातालाई कस्ता कामदार आवश्यक छन् भन्ने तथ्यांक हुन्छ । त्यहीँ कस्तो कस्तो सीप भएका कामदार छन् भन्ने तथ्यांक पनि रहन्छ ।

रोजगारदाताले मागेअनुसारका कामदार खटाउनेछ । तर, त्यस्तो क्षमता भएका कामदार त्यो केन्द्रमा नभएमा अन्य केन्द्रबाट पनि मगाउन सक्नेछ । त्यहाँ रहेका कामदार अन्य ठाउँबाट माग भइ आएमा पनि त्यहाँ खटाउन सक्नेछ ।

अहिले श्रम मन्त्रालयले केही रोजगारीको सूची तयार गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको भर्ना प्रक्रिया जारी छ ।

फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार