इलाम : किरात याक्थुङ चुम्लुङले तयार पारेको ‘ऐतिहासिक, पुरातात्विक क्षेत्र र समाधीस्थल संरक्षण तथा प्रवर्द्धन कार्यविधि २०७५’ को मस्यौदा सम्बन्धी देशभरबाट सुझाव संकलन गर्दैछ । लिम्बू जातिसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक क्षेत्र र समाधीस्थलहरुको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि किरात याक्थुङ चुम्लुङले कार्यविधि निर्माण गर्दैछ ।
त्यसका लागि आवश्यक सल्लाह र सुझाव लिन भन्दै चुम्लुङले छलफल कार्यक्रम संचालन गर्दै आएको छ । काठमाडौं उपत्यका सहित लिम्बू जातिको बसोबास रहेका देशका सबै जिल्लाबाट सुझाव संकलन कार्यक्रम भइरहेको चुम्लुङले जनाएको छ ।
किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाको आयोजना र संयोजनमा सम्बन्धित सरोकारवालाहरुसँग सुझाव संकलन गरेको हो । ५ पृष्ठको कार्यविधिको मस्यौदा तयारी गरी चुम्लुङले प्रत्येक जिल्ला शाखामा सुझावका लागि पठाएको छ ।
कार्यविधिकझ मस्यौदाका सम्बन्धमा मंगलबार इलाममा छलफल गरी सुझाव संकलन गरिएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाको आयोजनामा सरोकारवालाहरुको उपस्थितीमा कार्यविधिको मस्यौदाको छलफल गरी आवश्यक सुझाव दिइएको छ ।
चुम्लुङ इलाम शाखाकी अध्यक्ष गायत्री थेगिमको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूको प्मुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य मनराज जवेगू, सल्लाहकार सटेन्द्र जवेगु, सल्लाहकार एवं नगर अध्यक्ष बखतबहादुर आङदेम्बे, लिम्बू विद्यार्थी मंचका केन्द्रीय सदस्य राम लिङदम र गुल्सन आङबुहाङ, इलाम अध्यक्ष अतित योङहाङ, लिम्बू साँस्कृतिक परिषद इलामका अध्यक्ष जगत नेम्बाङ, समाधिस्थल संरक्षण समिति मलातेका संयोजक विक्रम सोङ्मीलगायतको उपस्थिती थियो । कार्यक्रममा उनीहरुले कार्यविधिमा थपघट गर्नुपर्ने विषयमा बुँदागत रुपमा सुझाव राखेका छन् ।
कार्यक्रमबाट संकलित सुझाव चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूमार्फत केन्द्रमा पठाइने जनाइएको छ ।