चट्याङले रेडियो माङसेबुङमा क्षति, प्रशारण सेवा बन्द

  नयाँ बुलन्द  370 पटक हेरिएको

इलाम : वर्षासँगै परेको चट्याङले इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङबाट संचालित रेडियो माङसेबुङ १०४.६ मेगाहर्जमा क्षति पुर्‍याएको छ ।

शनिबार परेको चट्याङले रेडियोको ट्रान्समिटरमा क्षति पुगेको रेडियोका स्टेशन प्रमुख सुमन लाओतीले नयाँ बुलन्दलाई जानकारी दिए । ट्रान्समिटरमा क्षति पुगेपछि रेडियोको प्रशारण समेत शनिबारदेखि नै बन्द भएको छ । चट्याङले करिब ५ लाख बराबरको सामग्रीमा क्षति पुगेको स्टेशन प्रमुख लाओतीले जानकारी दिए ।

ट्रान्समिटर मर्मतका लागि काठमाडौं लैजानुपर्ने भएकाले मर्मत गरी रेडियो सुचारु गर्न करिब एक महिना लाग्न सक्ने उनले बताए । मर्मतपछि ट्रान्समिटर आईपुग्नसाथ रेडियो पुनः सञ्चालन गर्ने उनले जनाए । रेडियो बन्द भएपछि त्यस क्षेत्रका बासिन्दा सूचनाको पहँचबाट टाढिएका छन् ।

यसअघि पनि दुईपटक चट्याङले ट्रान्समिटरमा क्षति पुर्‍याएपछि रेडियो प्रशारण सेवा बन्द भएको थियो । पछि मर्मतपछि पुन सुचारु भएको थियो ।

मेवानाम्बिन संचार सहकारी संस्थाद्वारा सञ्चालित सो रेडियो जिल्लाको गाउँपालिकामा सञ्चालित एकमात्र रेडियो हो । विद्युत र यातायाताको समेत असुविधा रहेको ठाउँबाट सञ्चालित सो रेडियो विहान ५ देखि राति १० बजेसम्म नियमित प्रशारण हुँदै आएको थियो । सो अवधिमा विविसी नेपाली सेवासहित ८ वटा समाचार बुलेटिन र विविन्न जनचेतना र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएको थियो ।

सो रेडियो पूर्वी नेपालका इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, धनकुटा र सुनसरीका विभिन्न क्षेत्रसम्म सुन्न सकिन्थो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार