नगरपालिकाले खेलकुदमा बजेट नछुट्याएको भन्दै खेलाडी आक्रोशित

नगरपालिका भन्छ : बजेट छ, ब्रेकडाउन हुन मात्र बाँकी छ

  नयाँ बुलन्द  390 पटक हेरिएको

इलाम : खेलकुद तथा शारीरिक व्यायाम स्वस्थ रहने सबैभन्दा महत्वपूर्ण उपाय हो । खेलकुदका माध्यमबाट विभिन्न खेल प्रतिभा भएका खेलाडिहरु उत्पादन हुने र मानिसहरुमा अतिरीक्त क्रियाकलापमा जोड दिई खेलकुदको विकासमा टेवा पुग्दछ ।

त्यसका लागि स्थानिय स्तरमा विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुन आवश्यक पर्दछ । जिल्ला तथा जिल्लाबाहिर आयोजना हुने प्रतियोगितामा स्थानीय खेलाडिहरुलाई सहभागीताको अवसर समेत दिइनुपर्दछ । सम्बन्धित निकायले खेलकुद क्षेत्रको विकासका लागि दीर्घकालीन निति, कार्यक्रम र बजेटमा प्राथिमकता दिइनुपर्दछ ।

स्थानीय तहले खेलकुद विकासलाई समेत समेटेर आफ्नो नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने हुन्छ । तर इलामको माई नगरपालिकामा त्यस्तो नभएको खेलाडिहरुले गुनासो गरेका छन् । नगरपालिकाले खेलकुद क्षेलाई उपेक्षा गरेको खेलाडिहरुको गुनासो छ । नगरपालिकाले वार्षिक बजेट र नीत तथा कार्यक्रम जर्तुमाका क्रममा खेलकुदका क्षेत्रलाई नसमेटेको भन्दै खेलाडिहरुले विरोध जनाएका छन् ।

खेलकुद विकासका लागि बजेट अभावका कारण खेलकुद सम्बन्धी कार्यक्रम संचालन हुन सकेको छैन । नगरपालिकाबाट प्रतिनिधित्व गर्दै अन्य जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन समेत खेलाडिलाई समस्या भएको  छ ।

सबै क्षेत्रलाई समेटेर बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने कानुनी व्यवस्था भएपनि माई नगरपालिकाले त्यसको पालना नगरेको पाइएको छ । खेल क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै खेलाडिह आक्रोशित बनेका छन् ।

उसो त नगरपालिकाले खेलकुद क्षेत्रको विकास गर्ने भन्दै गतवर्ष नै नगरस्तरीय खेलकुद परिषद गठन गरेको थियो । खेलकुद क्षेत्रको विकासै लागि भनेर नगर खेलकुद परिषदक गठन भएको १ वर्ष वितिसक्दा समेत खेल क्षेत्रमा कुनै सहयोग नपाएको दानाबारी डोजोका प्रशिक्षक सबिन मगरले बताए । दानाबारी कराते डोजो माई नगरपालिकाका खेलाडी समितिले तयार परेको प्रस्तावना नगर खेलकुद परिषदले स्वीकार नगरेको उनीहरुको गुनासो छ ।

माई नगरपालिका विभिन्न स्थानहरुमा कराते, तेकन्दो, फूटबल, भलिबललगायत खेलहरुको दैनिक अभ्यास भईरहेको छ । विगत ५ वर्षदेखि आफ्नै व्यक्तिगत खर्चमा बिभिन्न नगरस्तरीय, जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय तथा अन्तरास्ट्रिय कराते प्रतियोगिताहरुमा माई नगरपालिकाका खेलाडीहरु सहभागी भई विभिन पद हासिल गरिसकेका छन् । तर पनि नगरपालिकाले खेल क्षेत्रका लागि वेवास्ता गरेको माई नगरपालिका ९ की खेलाडी अन्जली राई बताउँछिन् ।

उता नगरपालिकाले खेलकुद क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै नगर खेलकुद परिषद समेत निश्क्रिय छ । विभिन्न विधाका खेल सम्बन्धी प्रस्तावनाहरु समेत परिषदले बजेट नभएकै कारण स्वीकृत गर्न नसकेको बताएको छ । चालू आर्थिक वर्षका लागि नगर खेलकुद परिषदमा खेलकुद सम्बन्धी बजेट नगरपालिकाबाट विनियोजन नभएकाले समस्या आएको परिषदका अध्यक्ष अनिलकुमार तामाङले बताए ।

‘यो वर्ष नगरपालिकाले खेलकुद विकासका लागि नगरपालिकाबाट एक रुपैयाँ प्राप्त भएको छैन । विभिन्न प्रतियोगितामा अघिल्लो वर्ष नै छनौट भएका खेलाडी सहभागी गराउँदा डेढ लाख जति ऋण लागिसकेको छ’ अध्यक्ष तामाङले भने, ‘नगरपालिकाले वेवास्ता गरेपछी अहिले झनै समस्या सिर्जना भएको  छ । दैनिक ५ देखि १० वटा फोन खेलाडी र टिमबाट आउने गर्दछन् । अहिले यो परिषद नै घाँडो जस्तो लाग्न थालिसक्यो ।’

त्यसो त नगर परिषदले आवश्यक पहल भने नगरेको होइन । चालु आर्थिक वर्षमा मात्र ९ वटा बैठक बसेर खेलकुद विकासका लागि नगरपालिकासँग बजेट माग गर्ने निर्णय गर्दै नगरपालिकासँग कुरा राख्दा समेत काम नभएको अध्यक्ष तामाङको भनाइ छ । ‘हामीले सबै बैठकमा निर्णय गर्दै नगरपालिकासँग कुरा गर्यौं । तर नगरपालिकाले युवा लक्षित कार्यक्रमको शीर्षकबाट खेलकुदमा रकम विनियोजन गरिदिने झूटो आश्वासन मात्र दिइरह्यो । हालसम्म एक रुपैयाँ विनियोजन गरेको छैन’ अध्यक्ष तामाद्ङले भने ।

यता नगरपालिकाले भने सबै क्षेत्रका लागि बजेट विनियोजन भएको तर कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ । नगरप्रमुख दीपककुमार थेवेले सबै लक्षित समूहका लागि एकमुष्ठ बजेट विनियोजन गरिएको र त्यहीबाट खेलकुदमा समेत दिन् बताए । ‘हामीले सबै लक्षित समूहका लागि एकमुष्ठ ५० लाख रुपैयाँ विनियोजन गरेका छौं । अहिलेसम्म ब्रेकडाउन नभएकाले दिन नसकेका हौं’ नगरप्रमुख थेवेले भने, ‘कार्यविधि बनाउँदै छौं । अबको २/३ दिनभित्रमा कार्यविधि बनाइसक्छौं । त्यसपछी ब्रेकडाउन गर्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार