सडक निर्माणमा अनियमितता भएको भन्दै छानविन गर्न माग !

मोटरसाइकलले नाप्छ प्राविधिकले बाटो !

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको देउमाई नगरपालिकाको एक सडक स्तरोन्तीका क्रममा अनियमितता भएको भन्दै उपभोक्ता समितिकै पदाधिकारीहरुले छानविनको माग गरेका छन् । देउमाई नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को नीति, कार्यक्रम र बजेट अन्तरगत वडा नम्बर ९ को भालुखोला सीर्जनशील आम्बोटे सडक स्तरोन्तिका लागि विनियोजित १५ लाख रुपैयाँ हिनामिना भएको भन्दै छानविनको माग गरेका हुन् ।

सो योजना उपभोक्ता समितिका अध्यक्ष रकम लिम्बू (स्याम सावा) र सचिव कुलबहादुर मगरले उपभोक्ता समितिको बैठक नै नराखी तथा समितिका पदाधिकारीलाई विना जानकारी एकलौटी ढंगले संचालन गरेको भन्दै समितिका चार जनाले काम रोकी छानविनको माग गरेका छन् ।

उपभोक्त समितिका सहसचिव ठाकुर लिम्बू र सदस्यहरु रञ्जित लिम्बू, श्याम लिम्बु र तारावीर लिम्बूले वडा कार्यालयमा लिखित रुपमा निवेदन पेश गर्दै अनियमितताको छानविन गर्न माग गरेका छन् ।

उनीहरुले समितिका अध्यक्ष र सचिवले प्राविधिकसँगमो मिलेमतोमा अनियमितता गरेको आरोप लगाएका छन् । प्राविधिकसँगको मिलेमतोमा अध्यक्ष र सचिवले स्काभेटर प्रयोग गरेर आर्थिक अनियमितता गरेको असन्तुष्टहरुको आरोप छ ।

उपभोक्ता ममितिको बैठक नै नराखी कसरी काम सुरु भयो भनेर आश्चार्यमा परेको उपभोक्ता समितिका सहसचिव ठाकुर लिम्बूले बताए । त्यो पनि उपभोक्ता समितिले उपभोक्ता समितिको काम कर्तव्य अधिकार भन्दा बाहिर रहेर ठेक्कामा दिएको बुझिएको छ । त्यसका लागि कुनै प्रक्रिया नअपनाइ प्राविधिक दीपेन्द्र रानासँगको मिलेमतोमा उनकै सिफारिसमा स्काभेटर प्रयोग भएको उनले दावी गरे र

यस विषयमा प्राविधिक दीपेन्द्र रानासँग सम्पर्क गर्दा कसको मेसिन कसरी लगाइयो भन्ने थाहा नभएको बताउँदै काम चाँही लगत स्टमेट भन्दा बढि काम भएको दावी गरे । उनले फाइनल भइनसकेपनि काम स्टमेट भन्दा बढी भएको बताए । रानाका अनुसार १० मिटर चौडाइको १ हजार १ सय ६० मिटर कटिङ हुनुपर्नेमा १ हजार ४ सय बढि कटिङको काम भएको र लगभग १ सय ४४ मिटर ग्राभेल हुनुपर्नेमा करिब २ सय मिटर ग्राभेल जानकारी दिए । तर उनले फित्ता तन्काएर नाप्न बाँकी नै  रहेको समेत बताए । ‘फाइनल नाप्न चाँही बाँकी नै छ । मैले मोटरसाइकलको मिटर शुन्य बनाएर हेर्दा १४ सय बढि कटिङ भएको पाए । उपभोक्ता समितिले रनिङ विल मात्र मागेको छ । फाइलनमा फित्तम तन्काएर हेरिन्छ ।’

अर्को आश्चार्यको कुरा उपभोक्ता समितिको बैठक नै नबसी कसरी योजना सम्झौता भयो र कसरी फरफारक हुन्छ भन्ने आम वडाबासीको चासो छ । कुनै पनि योजना सम्झौता गर्न र फरफारक गर्न वडा समितिले सिफारिस गर्नुपर्दछ । त्यो भन्दा अगाडि उपभोक्ता समितिको बैठक र आम भेला गराइ खर्च सार्वजनिकीकरण अनिवार्य गर्नुपर्दछ ।

यस विषयमा उपभोक्ता समितिका अध्यक्षसँग निरन्तर टेलिफोन सम्पर्क गरेपनि यो समाचार तयार पर्दासम्म सम्पर्क हुन सकेन ।

यता अनुगमन समितिका संयोजक तथा वडा अध्यक्ष प्रेम बरालले असन्तुष्टि पत्रको बारेमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘म काम विशेषले केही दिनयता कार्यालयमा उपस्थित हुन सकेको छैन । यदि पत्र आएको रहेछ भने नगरपालिकामा जानकारी गराउँनेछु’ अध्यक्ष बरालले भने । योजनाको विषयमा जिज्ञासा राख्दा उनले वडाको तर्फबाट अनुगमन गर्दा काम सन्तोषजनक पाएको बताउँदै नगरस्तरीय अनुगमन समितिको तर्फबाट अन्तिम अनुगमन हुन बाँकी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार