काठमाडौं : सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो कार्यदल पनि असफल भएको छ ।
कार्यदलको असफलतासँगै सत्तारुढ दल नेकपालाई तल्लो तह र जनवर्गीय संगठनको एकता गर्न थप समस्या परेको छ । अब सांगठनिक एकता टुंगो लगाउने जिम्मेवारी सचिवालयले नै पाएको छ ।
पछिल्लो स्थायी कमिटी बैठकले सांगठनिक एकता टुंगो लगाउन सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।
पुस मसान्तसम्म समयसिमा पाएको कार्यदलले समयसिमा सकिएको तीन सातासम्म पनि एकताको प्रस्ताव तयार पार्न नसकेपछि सचिवालयले नै प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको छ ।
मुख्यगरी पार्टीभित्र शीर्ष नेताहरुमा देखिएको गुटबन्दीको छाँया कार्यदलमा समेत परेपछि चौथो पटकको कार्यदल पनि असफल भएको हो ।
पदाधिकारीलाई दोहोरो जिम्मेवारी दिएको विषयमा कार्यदलभित्र तिव्र विवाद उत्पन्न भएपछि अन्य सांगठनिक एकताका विषयमा छलफल नै हुन सकेन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब सचिवालयले एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटी बैठकमा लैजाने बताए ।
सचिवालयलाई पनि सांगठनिक एकताको प्रस्ताव तयार पार्न सहज भने छैन । सचिवालयका सदस्यबीच नै सांगठनिक एकताको प्रक्रियाबारे तिव्र मतभेद छ ।
यसअघि एकतामा भएका निर्णयमा समेत विवाद छ । हुन त यसअघि नै ३ वटा कार्यदल बनाएर एकताको प्रयास गरिए पनि असफल भएको थिए ।
पार्टी एकीकरण लगत्तै गत जेठ १६ गते पार्टी एकताको कामलाई १५ दिनभित्रै टुंग्याउन अन्तरपार्टी निर्देशन जारी गरिएको थियो ।
जसमा ७ वटा प्रदेश, १ प्रवास, मातहतका जिल्ला कमिटी र २२ जनसंगठनको एकतालाई टुंगो लगाउन दुवै पार्टीका ४–४ सदस्यलाई जिम्मा दिए पनि कार्यदलले टुङ्गो लगाउन सकेन ।
त्यसपछि बाँकी काम टुङ्गो लगाउन सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई जिम्मा दियो ।
अध्यक्षद्वयले सातैवटै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट त गर्न सफल भए तर त्यो निर्णय अझै विवादित छ ।
गत कात्तिक ८ गते बसेको नेकपाको सचिवालय बैठकले पार्टी एकताको सबै काम पुरा गर्ने खाका तयार पार्न सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेललाई जिम्मा दिएको थियो ।
तर सो कार्यदलले प्रदेश कमिटीका सदस्य मात्रै सिफारिस गर्न सक्यो ।
सांगठनिक एकता लागि बनाइएका कार्यदल एकपछि अर्को गरी असफल हुँदै गएका छन् । यसले तल्लो तहको सांगठनिक एकता अझै लम्बिने देखिएको छ ।