घुर्बिसे : करिब एक हजार नौ सय मिटर उचाईमा रहेको इलाम र पाँचथरको सिमानामा अवस्थित घुर्बिसे पञ्चमी बजारमा ‘डिप बोरिङ’ प्रविधिद्वारा शुक्रबार देखि खानेपानी निकालिएको छ।
दुई सय ६५ मिटर गहिराई सम्म बोरिङ गरि ६० एमएम पाइपमा आउने पानी निकाल्न चार दिन लागेको थियोे।
पाथीभरा सोलार एण्ड डिलिङ्ग कम्पनीले फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाको ३० लाख रुपैयाको संयुक्त लगानीमा यस कामको थालनी गरेको उपभोक्त समिति अध्यक्ष द्वय तेजबहादुर चेम्जोङ र कृष्ण बहादुर लिम्बुले जानकारी दिएका छन्।
बजारीकरण संगै सुख्खा ग्रस्त रहेको यस बजारमा खानेपानीको समस्यालाई सहज गर्न उक्त योजनाको शुरूवात गरिएको उनीहरुको भनाइ छ।
पानी तान्ने मोटर जडान गर्न थ्री फेज विद्युतको लाइन विस्तार प्रक्रिया अघि बढेको र त्यस पछि पानी सुचारू गरिने समितिले जनाएको छ।
योजना कतिको दीर्घकालीन बन्ला भने धेरैजसोलाई चिन्ता रहेको हुँदा काम गर्ने कम्पनीले १० बर्ष सम्म आउने समस्याको जिम्मा लिएको कम्पनी संचालक कृष्ण अधिकारीले बताए।
निरन्तर संचालन हुन सके यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई पिउने पानी सहजता हुने देखिन्छ।