फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पास्थित रुपाटारमा तेस्रो संस्कणको शहिद स्मृति खुल्ला नकआउट फूटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा चौबन्दी फूटबल क्लब फाकफोकथुम ७ ले विजयी सुरुआत गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक शहिद स्मृति फूटबल प्रतियोगिता आयोजक समिति ‘ए’ लाई १-० को कठिन जित निकाल्दै चौबन्दी फूटबल क्लब विजयी बनेको हो ।
प्रतियोगिता अन्तरगत सोमबार दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा पाथीभरा फूटबल क्लब र वरभञ्ज्याङ फूटबल क्लबबीच तथा दोस्रो खेलमा नामसिंह ११ र मुनाल क्लबबीच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद ५० रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।
सोही प्रतियोगिताको अवसरमा ४० वर्ष उमेर माथिका टिमको सहभागिता रहने गरी भ्याट्रन फूटबल प्रतियोगिता समेत संचालन हुनेछ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजक समितिका अध्यक्ष राज थापाले नयाँ बुलन्दलाई जानकारी दिए ।
यसैबीच प्रतियोगिताको फाइनलमा मेला बजार र सुमधुर साँस्कृतिक कार्यक्रमको समेत तयारी गरिएको छ । साँस्कृतिका कार्यक्रममा कलाकारहरु प्रकाश बस्नेत, रमेश सुनुवार, विजय मुकारुङका साथ अन्य स्थानीय कालाकारहरुको प्रस्तुती रहनेछ ।
साथमा युनिक डान्स सेन्टरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता सहित कार्यक्रमका लागि करिब ४ लाख खर्च हुने अनुमान गरिएको आयोज समितिका अध्यक्ष थापाले बताए । त्यसका लागि विभिन्न खेलप्रेमी समाजसेवीहरुबाट सहयोग प्राप्त हुने उनले जनाए ।
देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।
आयोजक समितिका अध्यक्ष राज थापाको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख प्रमुख गणेश प्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामका अध्यक्ष भक्त केसीसहित विभिन्न समाजसेवीहरुको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिसस प्रमुख बरालले शहिदहरुको स्मृतिमा प्रतियोगिता आयोजना गरिएपनि उनीहरुको सपना पूरा गर्न बाँकी रहेको बताए । उनले अहिलेसम्म शहिदहरुको सपना पूरा हुन नसकेको भन्दै सबै पक्ष एकजुट भएर शहिदको सपना साकार गर्नुपर्नेमा जोड दिएका थिए ।