इलाम : इलाम नगरपालिका वडा नं.९ स्थित गोलाखर्कमा रहेको बाल अनाथालय गृहको नयाँ भवन निर्माण कार्य सुरु भएको छ ।
अनाथलयको पुरानो भवन जीर्ण र अव्यवस्थित रहेकोले नयाँ भवन निर्माण सुरु गरिएको भवन निर्माण स्रोत व्यवस्थापन समितिले जनाएको छ । भवन निर्माणको लागि चन्द्रवहादुर हाङखिमको संयोजकत्वमा “राहसल भवन निर्माण स्रोत व्यवस्थापन समिति” बनाई विभिन्न क्षेत्रबाट आर्थिक स्रोत जुटाईरहेको छ ।
शुक्रबार नयाँ भवन निर्माणको लागि घडेरी खार्ने र पिलरको लागि डोब खन्ने कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्यलाई पूरै अभियानकै रुपमा अगाडी बढाईरहेको छ । भवनलाई निर्माण गर्नको लागि करिव ५० देखी ६० लाख रकम लाग्ने स्रोत व्यवस्थापनका संयोजक चन्द्र हाङखिमले बताए ।
उनले भने अहिलेसम्म हामीले ५ लाख रकम मात्र समितिको खातामा जम्मा गरेका छौँ अन्य बाँकी रकम भने जुटाईरहेका छौँ ।
अहिलेसम्म जुटेको रकमले भवनको जग हाल्ने कार्यसम्म मात्र पुग्नेछ । राईले भने– हामी यहि माघ २७ बसन्त पञ्चमीको दिन भवनको शिलान्याश गर्दै छौँ त्यसपछि अभियानलाई तीब्र रुपमा अघि बढाउछौँ ।
भवनको निर्माणको लागि सहयोगको अपिल
स्रोत व्यवस्थापन समितिद्वारा भवन निर्माणको लागि काम सुरु गरिएतापनि भवन निर्माणको लागि रकम अभाव रहेको छ । त्यसैले गर्दा समितिले सहयोगी मनहरुलाई सहयोग गरिदिनहुनको लागि अनुरोध गरेको छ । जसको लागि इलामको बाल सनराईज बैंकमा अनाथालयको नाममा खाता नं. ०१२०४९६४०७०१००१ म रकम संकलन भईरहेको छ र सहयोग गर्न चाहनेहरुले सोही खाता नं. मा रकम जम्मा गरेर सहयोग गरिदिन हुन अनुरोध गरेको छ ।