बैतडी : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बैतडीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको छ ।
बैतडीको पाटन, चौराहमा नेविसंघ आवद्ध विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गरिएको, निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्रीको पुत्लादहन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले बताए ।
सरकारले जनताका अपेक्षाअनुसार काम नगरेको, बहुमतको दम्भले नागरिकका हीतविपरीतका काम सरकारले गरिरहेको आरोप उनले लगाए ।
महँगी र भ्रष्टाचार बढ्दै गएकाले सरकारलाई सचेत गराउन प्रधानमन्त्रीको पुत्लादहन गरिएको उनीहरुको भनाइ छ ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना बितिसक्दासमेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले आक्रोशसमेत पोखेको छ ।