इलाम : किरात राई कर्मचारी मञ्च इलामको अध्यक्षमा खोमबहादुर राई निर्वाचित भएका छन् ।
शनिबार इलाम सदरमुकाममा भएको मञ्चको प्रथम जिल्ला सभाले खोमबहादुर राईलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो । सभाले खोमबहादुरको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्षमा रेनुका राई, सचिवमा अर्जुन राई, सहसचिवमा रविन राई र कोषाध्यक्षमा सन्जोक राई निर्वाचित भएका छन् ।
सदस्यहरुमा खेमराज राई, शोभा राई, अस्मीता राई र नन्दकुमार राई निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई किरात राई कर्मचारी मञ्चका केन्द्रीय उपाध्यक्ष हर्षहाङ राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
किरात राई कर्मचारी मञ्च किरात राई यायोक्खाको भादृ संस्था हो । देशभरका विभिन्न शाखाहरुमध्ये इलाम शाखाले ऐतिहासिक रुपमा पहिलो सभा सम्पन्न गरेको हो ।
किरात राई कर्मचारी मञ्चका निवर्तमान अध्यक्ष जुवालदास राईको अध्यक्षतामा भएको सभाको उद्घाटन प्रमुख अतिथी किरात राई कर्मचारी मञ्चका केन्द्रीय उपाध्यक्ष हर्षमान राईले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष राईले सेवाग्राहीलाई सन्तुष्ट हुने गरी कर्मचारीहरुले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले सेवाग्राहीको नजरमा जहिलेपनि उत्कृष्ठ कार्यसम्पादन गरेर सन्तुष्ठ पार्न राई कर्मचारीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रमका विशिष्ट अतिथी किरात राई यायोक्खाका केन्द्रीय सदस्य कृष्णकुमार खालिङ राईले जनसंख्याको आधारमा राई कर्मचारी अत्यन्त कम रहेपनि पछिल्लो समय सन्तोषजनक रुपमा उपस्थिती हुन थालेको बताउँदै सबै मिलेर यसलाई बढावा दिनुपर्नेमा जोड थिए ।
कार्यक्रममा जिल्ला न्यायाधीस इन्द्रकुमार चोङटेन्ली राई, सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई, किरात राई यायोक्खाका पूर्व केन्द्रीय उपमहासचिव जसबहादुर राई, किरात राई यायोक्खा इलामका उपाध्यक्ष शुभराज राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङ, किरा तराई विद्यार्थी संघ इलामकी उपाध्यक्ष पवित्रा राई र किरात राई यायोक्खा इलाम नगर अध्यक्ष रुपधन राईले समसामियक मन्तव्य राखेका थिए ।
मञ्चका खेमराज राईले संचालन गरेको कार्यक्रमको स्वागत दशरथ राईले गरेका थिए ।