काठमाडौं : नेपाल चिकित्सक संघको अगुवाइमा त्रिवि शिक्षण अस्पतालमा आन्दोलन गर्दै आएका डाक्टरहरू निजी अस्पतालमा भने निरन्तर काम गरेको भेटिएको छ ।
शिक्षण अस्पतालमा डा. गोविन्द केसीको माग सरकारले पूरा नगरेको भनेर दिनभर अनशनमा बस्ने चिकित्सकहरू बेलुका र बिहान भने निजी अस्पतालमा बिरामी जाँच्ने गरेका हुन् । सर्वसाधारणलाई सर्वसुलभ रूपमा औषधि उपचार गराउने सरकारी अस्पतालमा भने उनीहरू आन्दोलनको बाहना बनाउँदै काम गर्दैनन् । मुलुकै सबैभन्दा जेठो वीर अस्पतालका चिकित्सक पनि बिहान हाजिर गरेर सिधै अनशनस्थल आएर बस्ने गरेका छन् ।
चिकित्सक संघको अगुवाईमा १४ माघबाट उनीहरू त्रिवि शिक्षण अस्पतालको प्रांगणमा धर्ना बसिरहेका छन् । सरकारी अस्पतालमा नियमितजसो जागिर पाक्ने भएपछि उनीहरू बिरामीलाई केही दिनदेखि जाँचिरहेका छैनन् । जसको प्रत्यक्षमार बिरामीले भोगिरहेका छन् । तर, बिरामीसँग चर्को महसुल असुलेर उपचार गर्ने निजी अस्पतालमा भने सोही चिकित्सक नियमित जाने गरेका छन् ।
डा. गोविन्द केसीको मागको समर्थन गर्दै धेरै चिकित्सकहरू अस्पतालमा गई आफ्नो ड्युटी समयसम्म आन्दोलन गर्ने र त्यसपछि निजी अस्पतालमा गएर जागिर खाने गरेपछि त्रिवि शिक्षण अस्पतालमा बिहीबार सर्वसाधारणले विरोधसमेत गरेका छन् । तर, केसी पक्षले सो आन्दोलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निर्देशनमा भएको आरोप लगाएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत केही चिकित्सक अहिले त्यहाँ भेटिँदैनन् । तर, उनीहरू निजी अस्पतालमा भने बिहान र बेलुका सजिलै भेटिन्छन् । चिकित्सक संघको कार्यकारी समितिका सदस्यसमेत रहेका डा. बद्री रिजाल, डा. विकास केसी, डा.कृष्ण बुढाथोकी लगायतका चिकित्सक दैनिकजसो अनशनमा जाने गरेका छन् । उनीहरू कार्यालय समयमा अस्पतालमा भने भेटिँदैनन् ।
तर, केसी बिहान र बेलुका भने अल नेपाल अस्पताल सामाखुसीमा कार्यरत छन् । उनी बिहान एक घण्टा र बेलुका एक घण्टा सो कार्यालयमा बिरामी जाँच्ने गरेका छन् । बुढाथोकी नेपाल अर्थोपेडिक जोरपाटीमा कार्यरत छन् भने केसी सुमेरु अस्पतालमा काम गर्दछन् ।
यस्तै, अनशनरत अन्य चिकित्सकहरूको हालत पनि उस्तै छ । सरकारी अस्पतालमा आउँदा घाम ताप्ने बिरामीलाई सेवा नदिने, आन्दोलन गर्ने त्यसपछि निजी अस्पताल र क्लिनिकमा गएर चाहिँ उपचार गर्ने गरेका छन् । यसरी हेर्दा बिरामीहरू निजीमा गई महँगो शुल्कमा उपचार गर्न बाध्य छन् । यस्ता धेरै चिकित्सकहरू अहिले डा. केसीको समर्थन गर्ने भन्दै अनशनको बहानामा काम नगरी फर्कने गरेका छन् । यस आन्दोलनको मुख्य मार भने बिरामीलाई परेको देखिन्छ ।
चिकित्सक संघ पनि उत्रियो सेवा हडतालमा
नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि भन्दै शुक्रबार आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । मानवीय संवेदनशीलतालाई समेत ख्याल नगर्दै चिकित्सकले सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
संघीय संसद्बाट विधेयक पारित भएपछि संघको बिहीबार बसेको आकस्मिक बैठकले शुक्रबार देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले विज्ञप्तिमा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने उल्लेख गरेको छ ।
अनशन तोड्न देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका छन् । नेता गगन थापासँगै अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका उनले अनशन तोडेर आन्दोलनको अर्को मोर्चाबाट जान सुझाव दिएका हुन् ।
सभापति देउवाले सरकार पेलेरै जाने मुडमा आएकाले पहिला आफ्नो ज्यान जोगाएर आन्दोलनको अर्को मोर्चाका लागि तयार हुनुपर्ने जिकिर गरेका थिए । ‘गोविन्द केसी मरे मरोस्, हाम्रो काम विधेयक पारित गर्नु थियो हामीले पारित गरिसक्यौँ’ भन्ने ढंगबाट सरकार प्रस्तुत भएको देउवाको भनाइ थियो । ‘म नैतिक रूपले बाँधिएको थिएँ, त्यसैले मेरो सम्पूर्ण प्रतिबद्धताका साथ म र पार्टीको प्रयास रह्यो ।
हामीले प्रतिनिधिसभाको बैठकबाट पनि आफूले गरेको अध्यादेशअनुसार जारी गर्ने प्रयास ग¥यौँ राष्ट्रिय सभासम्म अन्तिम प्रयास गर्यौँ हामीले सकेनाँै ।’ उनले अगाडि भने, ‘तर, यसको अर्थ लडाइँ सकियो भन्ने होइन जे कुराहरू हिजो भएका छन्, यो कानुन बनिसकेपछि पनि गलत प्रयोग नहोस् भन्नका लागि लडाइँ निरन्तर रहन्छ ।’ नेपाली जनताको चाहना पनि फेरि अर्को लडाइँ लड्नुपर्छ भन्ने रहेको भन्दै उनले भने, ‘एउटा नयाँ तागत, उत्साहका साथमा हामी फेरि लडाइँ लडौँ म यो अनुरोध गर्न आएको हुँ ।’
सभापति देउवा आउनुभन्दा केही समयअगाडि पूर्व–स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले डा. केसीलाई एक्लै भेटेर फर्किएका थिए । त्यसको केही समयपछि उनी देउवालाई लिएर भेट्न आएका थिए । आजको सौर्य दैनिकमा खबर छ ।