इलामका पुस्तौंदेखि तिथि र वारका आधारमा लाग्दै आएका हाट बजार बन्द

  नयाँ बुलन्द
0 Shares

इलाम : बढ्दो शहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौंदेखि तिथि र वारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र वारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् ।

जमुना, जोगमाई, फलाँटे, मङ्गलवारेको बुधवारे, नामसालिङको शुक्रवारे, फिक्कलको बरबोटे, आइतवारेलगायतका ठाउँमा लाग्ने गरेको हाट अहिले लाग्दैन । द्वन्द्वका बेलादेखि गोर्खे हाट बन्द भएको छ । सडक आसपासमा पर्ने साना बजारमा साप्ताहिकरूपमा हाट लगाउने चलन शुरू भए पनि परम्परागतरूपमा लाग्दै आएका हाट लाग्न छाडेको एक अध्ययनले देखाएको अध्ययनमा संलग्न राम रिमालले बताए ।

तिथि र वारका आधारमा लगाइने हाटबजार बन्द हुँदै जाँदा सडक सुविधा विस्तार भएको ठाउँमा बजार सर्दै गएका छन् । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले तिथिका आधारमा लाग्दै आएका धेरै हटिया बन्द गराए । सडकसँगै जोडेर पसल राख्ने चलनले सडकलाई ठाउँ पुग्न छाडेको छ । बजारका कारण सडक साँघुरिँदै गएपछि केही ठाउँमा बजारलाई छाडेर सडक बनाइएका छन् । सडक छेउमा बजार निर्माण गर्ने र हटियासमेत लगाउने परिपाटीले यातायात अस्तव्यस्त बन्ने गरेको छ ।

यहाँका पुराना बजार सडक सुविधा नपुगेकै कारण बन्द हुँदै गएका छन् । सडक पुगेका ठाउँमा मात्र पुराना बजारले निरन्तरता पाएका छन् । एकताका चम्किएको इलामको पुरानो गोर्खे बजार बन्द छ । जिल्लाकै पुरानो बजारका रूपमा रहेको गोर्खे अहिले चकमन्न छ । गोर्खेबजार भारतबाट सरसामान ल्याएर विक्री गर्ने बजार थियो । गोर्खेबाटै इलाम सदरमुकामसम्म सामान ल्याइन्थ्यो । वि.सं. १९६० अघि नै भन्सार र प्रहरी चौकीसमेत भएको गोर्खे बजार सुकेपछि त्यहाँ रहेको भन्सार र प्रहरी चौकीसमेत अहिले त्यहाँ छैनन् । भारतबाट मानेभञ्ज्याङसम्म गाडी आउँदा गोर्खेमा सबै प्रकारका सामान पाइन्थ्यो । जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै गोर्खेबजार सुक्दै गएको हो ।

बाटोको पहुँच नपुगेको नाम्सालिङको शुक्रवारे बजार बन्द छ । भारतसँग नजिकमा पर्ने शुक्रवारे बजार पनि एकताका खुब चल्तीको बजार थियो । वि.सं. १९६० भन्दा अघिदेखि नै व्यापारिक कारोबार हुने बजारमा अहिले पसल नगण्य मात्रामा छन् । गाउँमा अन्यत्रबाटै सामान जान थालेपछि बजार सुस्ताएको छ । फाकफोकको फलाँटे, माईपोखरीको देउराली, जमुनाको बुधवारे बजार पनि बाटोकै असहजताले बन्द भएका हुन् । माईपोखरीको देउरालीसम्म सडक पुगेपछि बुधवारे बजारको चमक घटेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार