दारको ठेकी उद्योग फाकफोकथुममा

  नयाँ बुलन्द
0 Shares

मङ्गलबारे :  दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षकरूपमा कँुद्न सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली ।

दारको रूखबाट आकर्षकरूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन भ्याइनभ्याइ छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम गाउँपालिका–३ आमचोकलाई कर्मथलो बनाएका रसाइलीले ठेकी कुँदेको स्थलमा पुग्दा जो कोहीलाई पनि हेरिरहँुजस्तो लाग्छ ।

काठको मुढालाई पहिले सामान्यरूपमा तासिन्छ । तासिएको मुढालाई मेसिनमा हालेर कुँद्न थालिन्छ । करीब आधा घण्टादेखि एक घण्टामा सामान्य खालको ठेकी तयार हुन्छ । रसाइलीले ठेकी बनाउन थालेको तीन वर्ष पुग्यो । “मैले ठेकी बनाउन शुरू गरेको तीन वर्ष भयो, म घरबाट पहिलोपटक आमचोक आएको हुँ”, रसाइलीले भने, “हातमा सीप छ भने पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन । मौसममा ठेकी बनाएर मात्र रु तीन÷चार लाख कमाउँछु ।”

शुरूमा ७० हजारमा पमसिट मेशिन खरीद गरेर व्यवसाय थालेका उनले सबै खर्च कटाएर राम्रो आम्दानी गरेको सुनाए । तीन वर्षको अवधिमा करीब दुई हजार वटा ठेकी, हर्पे, तोङ्बा, डम्बरू लगायतका सामग्री बनाएको उनले बताए ।

“दैनिक चारदेखि पाँच वटासम्म ठेकी तयार गर्छु, ठूला ठेकी बनाउन धेरै समय लाग्छ”, उनले भने, “गाउँघरमा दारको ठेकी धेरै रूचाउने भएकाले यसको माग उच्च छ ।”

उनले ठेकी कुँद्न तालीम भने लिएको होइन । अरूले बनाएको देखेर पनि आफूले सिकेको उनले बताए । “गर्दा केही काम पनि असम्भव भन्ने छैन”, उनी भन्छन्  “हातमा सीप छ भने दुई चार पैसा कमाउन विदेशिनु पर्दैन ।”

उनले ठेकीको मात्रा हेरी ज्याला लिनछन् । एक कुरूवाको रु १२० ज्याला तिर्नुपर्छ । मेशिनलाई लाग्ने डिजेल पनि  आफैँ नै खरीद गछन् । रसाइलीलाई ठेकी बनाउन आमचोकका इन्द्रप्रसाद अधिकारीले आमचोक बोलाएका हुन । अधिकारीले दारको रूख खरीद गरेर ल्याउछन् । ठेकी बनाउने रसाइलीलाई अधिकारीले खान र बस्ने राम्रो प्रबन्ध मिलाएका छन् । करीब डेढ महीनाको अवधिमा १५० वटा ठेकी तयार भइसकेका छन् । यहाँ बनाइएका ठेकी स्थानीयस्तरमा साथै झापाको विर्तामोडसम्म बिक्री गरिँदै आएको ठेकी उद्योगी इन्द्र अधिकारीले बताए ।

उनले गत वर्ष पनि ठेकी बनाउन झापाबाट चँदरालाई यहाँ बोलाएका थिए । ठेकी बिक्री गरेर अधिकारीले एकै मौसममा करीब रु एक लाख आम्दानी गरिसमा  छन् । ग्रामीण भेगमा पशुपालन गर्ने कृषक र दूध खरीद गरेर खानेले पनि ठेकी खरीद गरिरहेको अधिकारी बताउछन् ।

एक साताअघि मात्र आमचोकमा सम्पन्न एकीकृत घुम्ती शिविरमा आउने कर्मचारीले एकैपटक २० वटाभन्दा बढी ठेकी खरीद गरेको अधिकारीले बताए । दारको ठेकीमा जमाएको दही पिउँदा विभिन्न खालका रोगसमेत निको हुने विश्वासले मानिसले दारको ठेकी नै खोजेर किन्ने गरेको अधिकारी बताउछन्। सामान्य खालको छाती पोल्ने, पेट पोल्नेलगायतका रोग यसको प्रयोगबाट निको हुने स्थानीय बासिन्दा धनपति घिमिरेको भनाइ छ । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले पनि ठेकी उद्योगको अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार