अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला कमलको फूल आकारमा

भिडियो सहित

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा बनाउने घोषणा गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको आकार कमलको फूलको आकारमा हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रंगशाला १ सय ३५ मिटर ब्यासमा बन्ने बुधबार घोषणा गरिएको हो। यस्तै रंगशालामा ४ वटा मुख्य गेट हुनेछन्। २५ हजार दर्शक क्षमताको बन्ने रंगशालामा विशेष पाहुनका लागि विशेष लबी निर्माण गरिनेछ। यस्तै रंगशालाको चारै भागमा एलइडी स्क्रिन हुनेछन् भने फ्लड लाइडको पनि जडाउ हुनेछ। मिडियाका लागि अत्याधुनिक सुविधासहितको छुट्टै हल निर्माण गरिनेछ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको बुधबार राष्ट्रिय सभागृह काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरिएको हो। कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराएको छ।

रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी कम्प्लेक्स निर्माण गरिनेछ। कम्प्लेक्स स्तुपा आकारमा हुनेछ। जसलाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ। सो जग्गा रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यसअघि नै सम्झौता भइसकेको छ।

रंगशालाका लागि ३ अर्ब रुपैयाँ बजेट लाग्नेछ। कट्टेलकाअनुसार औपचारिक घोषणा र सम्झौतापछि अब स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ।  राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ।

रंगशालाका लागि आगामी ६ महिनामा गुरु योजना तयार गरिनेछ। गुरु योजना घोषणा गरिएको २ वर्षभित्रमा रंगशाला निर्माण सकिने अध्यक्ष कट्टेलले बताए। रंगशाला निर्माण सकिएपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिनेछ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रणु दाहालले आयोजनाले खुसी तुल्याएको थियो। ‘हामीलाई रंगशाला बनाउन तिव्र चाहना र फाउन्डेसनले जग्गा खोजिरहेको कुराको मेल भएपछि रंगशाला निर्माण हुन लागेको हो,’ उनले भनिन्,’कम्तिमा २ वर्षमा रंगशाला निर्माण सकिन्छ। त्यसपछि पहिलो खेल भारत र पाकिस्तानबीच खेलाउने हाम्रो आन्तरिक सोच छ। त्यसका लागि हामीले त्यसका लागि तयारी गरिरहेका छौं। हेरौ कत सम्भव हुन्छ।’

यस्तो हुनेछ रंगशाला:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार