काठमाडौं : हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।
यद्यपी उनको अवस्था खतरामुक्त भने भइ नसकेको अस्पतालले जनाएको छ । हृदयाघात भएपछि उनलाई हिजो अपराह्न अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले गरेको परीक्षणमा उनलाई कडा हृदयाघात भएको पाइएको थियो ।
अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उनको मुटुको शल्यक्रिया गरेको थियो ।
अस्पतालले शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएकाले कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपणको काम सफलतापूर्वक गरी सीसीयुमा राखिएको जनाएको छ ।
पारसको उपचारमा डा. भट्टसहित डा. जेपी जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न छ ।
पारसलाई तेस्रो पटक हृदयाघात भएको हो । यसअघि पनि उनको मुटुको नलीमा स्टेन्ट राखिएको थियो ।