काठमाडौं : २० दिनदेखि आमरण अनसनमा रहेका डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरुले आजबाट रिले अनसन सुरु गरेका छन् ।
चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले रिले अनसन सुरु गरेका हुन् ।
उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिएका छन् ।
संघका अनुसार अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
नेपाल चिकित्सिक संघका अध्यक्ष मुक्ति श्रेष्ठले केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेपछि रिले अनसन बस्नुपरेको बताए । संघमा देशभरका करिब ८ हजार चिकित्सक आवद्ध छन् ।
संघले रिले अनसन सुरु गरे पनि ओपीडी सेवा भने प्रभावित भएको छैन । रिले अनसनमा आलोपालो बसेरै भए पनि सेवा सञ्चालन गर्ने संघको निर्णयअनुसार सेवा सुचारु भएको हो । २ दिनसम्म पनि माग सम्बोधन नगर्न कडा आन्दोलनमा उत्रने चेतावनी संघले दिएको छ ।