काठमाडौं : नेपाल चिकित्सक संघले अनशनरत् डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएको छ ।
संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी आइतबारसम्म पनि डा. केसीको माग पूरा गर्नेतर्फ सरकारले ध्यान नदिए आन्दोलनका कार्यक्रम अघि सार्ने जनाएको हो ।
काठमाडौंका सबै अस्पतालका चिकित्सकहरु भेला भइ आन्दोलनका कार्यक्रम अघि सार्ने पनि चिकित्सक संघले जनाएको छ ।
स्वास्थ्य थप खस्कियो
उता, डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुले डा. केसीको स्वास्थ्य थप खस्किएको बताएका छन् ।
डा. प्रमेश श्रेष्ठले बिहीबार ‘हेल्थ बुलेटिन’ जारी गर्दै डा. केसीको निद्रामा समस्या भएको र मांसपेसी बाउँडिने र कमजोरी बढेको बताएका छन् ।
शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि अक्सिजन दिइएको र पिसाबमा भने कुनै समस्या नदेखिएको हेल्थ बुलेटिनमा उल्लेख छ ।