विराटनगर : १ नम्बर प्रदेश अन्तर्गत उदयपुर र मोरङ जिल्लाबाट प्रहरी बुधवार लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन राई, बर्ष २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका-३ बसाहा बस्ने बर्ष ३० को मीन बहादुर मगर र सप्तरी सप्तकोशी नगरपालिका-१ बस्ने बर्ष ३६ को मनोज मगरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसिक-८ एम्पुल, फेनारगन-८ एम्पुल र डाईजेल्याब-८ एम्पुल फेला पारेको थियो । पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यता मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले लागूऔषध लुपिजेसिक-९ एम्पुल, फेनारगन-९ एम्पुल, एभिल-९ एम्पुल, डाईजेल्याव-९ एम्पुल र १० चक्की नाईट्रोसन ट्याबलेट सहित १ जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-८ बस्ने शिवनन्द मेहताको छोरा बर्ष १८ को पप्पु मेहतालाई पक्राउ गरेको हो । पक्राउ परेका मेहतालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।