विद्यालयलाई जग्गा जोगाउनै मुस्किल

  विप्लव भट्टराई
0 Shares

इलाम :  जिल्लामा रहेका पुराना विद्यालयको नाममा पर्याप्त जग्गा रहे पनि आम्दानी न्यून मात्र छ । ती शैक्षिक संस्थालाई जग्गा जोगाउनसमेत हम्मे छ ।

सदरमुकामभित्र र बाहिर रहेका कतिपय शैक्षिक संस्थाले मुद्दा मामिलामा नै धेरै रकम खर्चिसकेका छन् । कतिपयले न्यून मूल्यमा ठेक्का लगाएरआफ्नो उपस्थिति देखाएका छन् ।

वर्षांैदेखि जग्गा जोगाउने ध्याउन्नमा विद्यालय र क्याम्पस सक्रिय छन् । इलाम सदरमुकामस्थित पुरानो विद्यालय आदर्श मावि, सदरमुकामकै गोलाखर्कस्थित भगवती मावि, सूर्योदय नगरपालिकाको करफोक मावि, माइजोगमाईको नामसालिङ माविलगायतले आफ्नो नाममा रहेको जमिनको उचित प्रयोग र संरक्षण गर्न सकेका छैनन् ।

सदरमुकामको भगवती उच्च माविको नाममा झापाको अर्जुनधारा नगरपालिकास्थित सेतीपानीमा रहेको ६ बिघा १३ कट्ठा जमिनमध्ये १७ कट्ठा मोही लगेको छ । १ बिघा १४ कट्ठामा मोही दाबी भए पनि १७ कट्ठा मोहीले पाएका हुन् । बाँकी जग्गाको सरकारी चलनचल्तीअनुसार वार्षिक ठेक्का आउने प्रधानाध्यापक डोरकुमार पौडेलले जानकारी दिए ।

सूर्योदय नगरपालिकास्थित करफोक माविको नाममा रहेको जमिनबाट पनि पर्याप्त आम्दानी हुन सकेको छैन । विद्यालयको नाममा झापामा ४२ बिघा जमिन छ । तर मोहियानी हक दाबी गर्दै कतिपय जग्गा विद्यालयको स्वामित्वबाट गुमिसकेको छ । त्यसको आधिकारिक तथ्यांक भने विद्यालयसँग छैन । त्यस्तै सूर्योदय नगरपालिकामा ४ सय ९५ रोपनी जमिन छ । यति धेरै जमिन भए पनि विद्यालयले नियमित पाउने हिस्सा भने धेरै कम मात्र छ ।

झापाको जमिनबाट वार्षिक ३ लाख रुपैयाँ हाराहारी मात्र ठेक्का पाउने गरेको छ । ‘मोहियानी दाबी गर्नेले सीधै अदालतमा मुद्दा हाल्ने र अदालतले जग्गा छुट्याइदिने गरेकाले पत्तै पाइँदैन,’ प्रअ दिनराज निरौलाले भने, ‘विद्यालयले पनि जग्गा जोगाउन ठोस पहल गर्न नसकेकै हो ।’

विद्यालयको नाममा झापाको सुरुङ्गामा २६ बिघा र शनिश्चरमा १६ बिघा जमिन छ । त्यस्तै धरमपुरमा साढे ३ बिघा जमिन छ । विद्यालय क्षेत्रमा रहेको १४ रोपनी जति जमिनमा चियाबारी रहेको छ भने बाँकी सबै जमिनमा जंगल छ ।

२०१० मा स्थापित यो विद्यालयमा २०४९ मा पूर्वाञ्चलमा नै पहिलोपटक उच्च माविका कक्षा सञ्चालन भएका हुन् । २०५९ मा क्याम्पस सञ्चालन भएपछि मानविकी, व्यवस्थापन र एजुकेसनमा अध्ययन अध्यापन हुने गरेको छ ।

अर्को पुरानो शैक्षिक केन्द्र नाम्सालिङ माविले झापा र इलाममा रहेको जग्गाको उचित प्रयोग र आम्दानी गर्न सकेको छैन । ४ सय रोपनीभन्दा धेरै जमिन रहेको यो विद्यालयले वार्षिक रूपमा एक लाख रुपैयाँ आम्दानी गर्न पनि मुस्किल छ ।

झापाको चन्द्रगढीमा नाम्सालिङकै ढकाल बन्धुहरूले उपलब्ध गराएको १४ बिघा जग्गामा पनि मोहीको दाबी छ । विद्यालयले आफैं भोगचलन गर्ने प्रयास गरे पनि सम्भव नभएको व्यवस्थापन समितिका सदस्य रमेश सुवेदीले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार