काठमाडौं : काठमाडौं उपत्यका सहित पश्चिमका अधिकांश क्षेत्रमा शनिवाससम्म वर्षा जारी रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । गएरातीबाट सुरु भएको वर्षा आजरातीबाट रोकिएपनि पश्चिम वायुका कारण आगामी शुक्रबार र शनिबार दिनभर जसो वर्षा हुने महाशाखाको अनुमान छ । पूर्वी क्षेत्रका केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ । पानी पर्न सुरु भएको १३ घण्टामा काठमाडौं उपत्यकामा ८ मिलिमिटर वर्षा भएको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण जनजीवन भने प्रभावित भएको छ । काठमाडौं उपत्यका नजिकका फुलचोकी, चन्द्रागिरी र नगरकोटमा हिमपात भएको छ । पश्चिमका हिमाली क्षेत्रमा दशकयताकै बाक्लो हिमपात भएको छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रका जिल्लामा जनजीवन कष्टकर बनेको छ ।