काठमाडौं: पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ ।
उच्च भू–भागमा हिमपात र पहाड तथा तराईमा वर्षा भएसँगै चिसो ह्वात्तै बढेकाले धेरैको जनजीवन कस्टकर बनेको छ ।
अर्कोतिर हिउँदेबाली सुक्न लागेका बेलामा परेको पानी कृषकहरुका लागि भने ‘अमृत’ समान बनेको छ ।
मंगलबारदेखि सुरु भएको हिमपातका कारण जनजीवन प्रभावित भइरहेको छ । मौसम बदली भएसँगै भएको वर्षा र हिमपातले धेरै ठाउँको यातायात, सन्चार तथा हवाईसेवा अवरुद्ध बनेको छ ।
उसै त चिसोको मौसम त्यसैमाथिको हिमपात र वर्षाले चिसोको मात्रा ह्वात्तै बढिरहेको छ ।
हिमपातका कारण हिमपहिरोको जोखिम पनि उत्तिकै बढेको छ भने चिसोका कारण बिरामीको संख्या बढ्नसक्ने देखिएको छ ।
त्यस्तै, अधिकांश ठाउँमा विद्यार्थीको पठन–पाठन नराम्ररी प्रभावित भएको छ भने दैनिक कामहरु गर्न पनि असहज भइरहेको छ ।
मंगलबारदेखि सुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने मौसमविद्को अनुमान छ ।
हिमपात र वर्षाका कारण चिसोले कठ्यांग्रिनुपरेको अवस्था त छँदैछ तरपनि बालीनाली सप्रने भएकाले किसानहरु भने हर्षित देखिन्छन् ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख साहसराम चौधरीले अहिलेको वर्षाले कृषि उत्पादन बढ्ने बताए ।
जिल्लाका नांगा पहाड तथा उराठ लाग्दा डाँडाहरु पनि अहिले हिउँले सेताम्ये भएका छन् ।
मंसिरदेखि फागुनसम्म जति बढी हिमपात भयो, उति नै किसानहरुका लागि वरदान मानिन्छ ।
माघमा परेको हिउँले गहुँ, जौ, तोरी, फापर मकै, आलु झनै सप्रिने भएकाले किसानहरु भने मख्ख छन् ।
करिब ७४ प्रतिशत जनता कृषिमा आश्रित भएकाले हाम्रो मुलुकलाई कृषिप्रधान मानिन्छ ।
जनजीवन केही प्रभावित भएपनि कृषि क्षेत्रका लागि अहिलेको वर्षा वरदान सावित हुने धेरैको विश्वास छ ।