काठमाडौं : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा चालू आर्थिक वर्षभित्रै १३ कैदीबन्दीको मृत्यु भएको छ ।
कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. भगतलाल श्रेष्ठले जानकारी दिए ।
रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको उनको भनाइ छ ।
कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गंगालाल अस्पतालमा पठाउँदै आएको डा. श्रेष्ठले बताए ।
१९७१ सालमा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा २०२० सालतिरबाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आइएको छ । केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल २ हजार ८ सय कैदीबन्दी छन् ।
यस्तै चालू आवमा मात्र झन्डै पाँच हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गराएको कारागार अस्पतालले जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गरेका थिए ।
२४ सै घण्टा कैदीबन्दीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक डिल्लीबजार कारागार र नख्खु कारागारका कैदीबन्दीको समेत उपचार गर्दै आएको छ ।