माङसेबुङमा धुमधामसँग सावायेहाङ किरात खिवेक्‍वा यक्‍वा सेवा

  राम योङहाङ
0 Shares

इलाम : प्रकृतिपूजक किरातीहरुले सावायेहाङ किरात खिवेक्‍वा यक्‍वा (उभौली) सेवा धुमधामका साथ आयोजना गरेका छन् । इलामको माङसेबुङमा विभिन्न कार्यक्रम आयोजना गरी सावायेहाङ किरात खिवेक्‍वा यक्‍वा सेवा गरेका हुन् ।

सेवाको अवसरमा साक्मुरा वदेम्मा (गालीश्राप वहन्ती), विश्व शान्ति र मानव एकताको कामना गर्दै सावायेत् लाधुङ सेमी सेवा, पुस्तक पुस्तिका विमोचन, झाँकी प्रदर्शन, साहित्यिक तथा वृहत साँस्कृतिक कार्यक्रम, किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङबाट अमृतमय आशिर्वचन, धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेनको हस्तवाहुलीबाट माङवाहाङवा वितरण गरिएको छ ।

कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैत समेतको उपस्थितीमा उद्घाटन समारोह,  आशीर्वचन तथा वृहत साँस्कृतिका कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रम अन्तरगत या:लाङ (धाननाच), केलाङ (च्याब्रुङ नाच), माङलाङ,  हाक्पारेलगायत साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

साँस्कृतिक कार्यक्रममा गायिका फक्ताङलुङ आइडल सिजन टु का फस्ट रनरअप गंगा फियाक, चर्चित बाल गायिका माङगेना कुरुम्बाङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

के हो सावायेहाङ किरात खिवेक्‍वा यक्‍वा सेवा ?

प्रकृतिपूजक किरातीहरुले जग्गा जमिन खनजोत गर्न र वीउविजन छर्नअघि पृथ्वीको पुजा आराधना गर्ने गर्दछन् । त्यस पूजा आराधानालाई सावायेहाङ किरात खिवेक्‍वा यक्‍वा (उभौली) सेवा भनिन्छ । खनजोत गर्दा जमिन भित्र र बाहिर रहेका कीटपतङ्गहरु अन्जानवस मारिइने भएकाले खिवेक्‍वा यक्‍वा सेवामा उक्त भूलवस भएको कार्यका लागि क्षमा याचना र मृत कीटपतङ्गको मुक्तिका लागि सेवा भक्ति गरिन्छ ।

कीटपतङ्ग, रोग नलागिकन बालीनालीले राम्रो फल दिवोस्, मानव तथा सकल प्राणीमा धनधान्य, शुख, शान्ति तथा समृद्धि मिलोस् भनेर तागेरा निङवा भुमाङ (इश्‍वर) प्रति सेवा आराधाना गरिन्छ । यसरी नै यही सेवामा पृथ्वी, आकाश, हावा, आगो र पानी (पंचतत्व) को सन्तुलनका लागि सेवा भक्ति गरिन्छ । यसरी सेवा आराधाना गर्दा जलवायु सन्तुलनमा रहने विश्‍वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार