२१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

  सन्तोष नेम्बाङ लिम्बू
0 Shares

झापा : “घर तथा भवन निर्माणको क्रममा पिलर, विम, छत आदिमा पानीले भिजाउने कार्य (क्यूरिङ्ग) गर्ने गरिन्छ, हेर्दा सामान्य लाग्छ, यसो गर्न प्राविधिक रुपमा किन आवश्यक छ भन्ने ज्ञान सबैलाई छैन नि” ? भन्ने जिज्ञासा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राख्दा कार्यक्रममा सहभागी प्रायलाई समेत जानकारी कम भएको आभास झल्कियो ।

यो जिज्ञासा प्रजिअ दाहालले २१ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ सोमबार झापाको जिल्ला समन्वय समितिको सभाकक्षमा मनाउने क्रममा राखेका थिए । दाहालको जिज्ञासामा सघन शहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख ईन्जिनियर विदुर खड्काले भने “निर्माणको क्रममा अनिवार्य रुपमा पिलर, विमलाई (क्यूरिङ्ग) पानीले भिजाउनु पर्छ , जसलाई प्राविधिक भाषामा भन्दा निर्माणको क्रममा प्रयोग गरिने सिमेन्टले पानीविना आफ्नो क्षमता अनुसारको कार्य गर्न सक्दैन, सिमेन्टलाई जब वालुवा र गिटीमा प्राविधिक मात्रामा आवश्यकता अनुसार घोलाए पछि सिमेन्टले रासायनिक प्रकृया शुरु गर्छ ।

जुन रासायनिक प्रकृयालाई निरन्तर पानीले भिजाई रहेको खण्डमा त्यसको भार बहन क्षमताको आयु बलियो र दिगो हुदै जान्छ । सिमेन्ट प्रयोग गरिए पछि निरन्तर ७ दिन सम्म पानीले भिजाएमा पिलर, विमको भार बहन क्षमता शक्ति आयु ६८% बढेर जान्छ भने २८ दिन सम्म पानीले भिजाउने कार्य (क्यूरिङ्ग) गरेमा ९९ प्रतिशत पुग्छ । त्यसैले ढलान गरिए पछि अनिवार्य पानी हाल्नु (क्यूरिङ्ग) पर्छ आयोजना प्रमुख खड्काले भने” ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सासंद पूर्ण प्रसाद राजवंशिले यस्ता किसिमको प्राविधिक ज्ञान शिप आमजनमानसमा पग्न नसकेको धारणा राख्दै अबको तीनै तहका सरकारले यस्ता प्राविधिक जनचेतनाका कार्यक्रमहरु गर्न सके भूकम्प जोखिमलाई न्यूनिकरण गर्नमा सहयोग पुग्ने बताए । सरकारी तवरबाट झापा जिल्लामा समेत सोमबार मनाईएको भूकम्प सुरक्षा दिवस कार्यक्रममा नागरिकको उल्लेख सहभागीता नरहे पनि “विपदबाट सुरक्षित हुन नागरिकको अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” भन्ने नारा तय गरिएकोले यो दिवस मनाउन झापाका सबै नगर तथा गाउँपालिकाहरु, सामुदायिक विद्यालयहरुलाई अनिवार्य रुपमा मनाउन पत्रचार गरिएको २१ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति झापाका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए ।

दिवसकै अवसरमा सघन शहरी विकास तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख ई.विदुर खड्काले भूकम्प प्रतिरोधी भवन निर्माण गर्दा अपनाउनु पर्ने प्राविधिक ज्ञान, भवन निर्माण सम्बन्धि बनेका नीति तथा कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी झापा अध्यक्ष लोकराज ढकालले भूकम्प गई आशिंक तथा पूर्ण क्षति भएको अवस्थामा घाइते तथा अन्य व्यक्तिहरुलाई सुरक्षित रुपमा तत्काल गरिने उद्धार तथा प्रकोप व्यवस्थापनको बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,सुरक्षा निकायका प्रमुख तथा जवानहरु, ओमशान्ति परिवार लगायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार