नेपाल विद्यार्थी संघमा भाँडभैलो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा भाँडभैलो मच्चिएको छ ।

लामो समयसम्म महाधिवेशन नहुँदा नेविसंघ कमजोरमात्र भएको छैन, गुट–उपगुटमा विभाजित हुँदै संगठनसमेत धरासायी बन्दै गएको छ ।

नेपाल विद्यार्थी संघको महाधिवेशन समयमा हुन नसक्दा विद्यार्थी संगठन आफैंमा अस्तव्यस्त भएको छ ।

अध्यक्ष नैनसिंह महरको कार्यसमितिले दुईपटक मिति तोकेपनि महाधिवेशन गराउन नसक्दा विद्यार्थी संघभित्र खटपट बढेको हो ।

नेविसंघको पछिल्लो समय यही पुस २८ देखि माघ २ गतेसम्म महाधिवेशन गर्ने तिथि तोकेपनि महाधिवेशन गराउन सकेन ।

वर्तमान कार्यसमितिले निर्वाचन गर्न नसकेपछि नेविसंघभित्रका कार्यसमिति सदस्यले धमाधम राजीनामा दिन थालेका छन् ।

उनीहरुले अहिलेको नेतृत्वको कार्यशैली र क्षमताबाट संघको महाधिवेशन हुन नसक्ने निर्क्योल निकाल्दै नयाँ नेतृत्वले निर्वाचन गर्नुपर्ने मागसमेत राखेका छन् ।

नेविसंघ पनि माउ पार्टी नेपाली कांग्रेसझैं गुट–उपगुटको रोगले गिजोलिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला गुटले विभक्त भएजस्तै नेविसंघमा पनि यी तीनओटै गुटले निरन्तरता पाउँदा संगठन कमजोर बनेको हो ।

नेविसंघभित्र महर नेतृत्वको कार्यसमिति विघटन गरेर नयाँ तदर्थ समितिले निर्वाचन गर्ने कि वर्तमान कार्यसमितिको म्याद थप गरी निर्वाचन गर्ने भन्ने विवादले विद्यार्थी संघमा तनाब बढाएको छ ।

संस्थापन र संस्थापनइतरपक्षका विद्यार्थी नेताहरुबीच जुहारी चलिरहेको छ ।

विधानअनुसार नचल्दा संगठनभित्र समस्या सिर्जना भएको विद्यार्थी नेताहरुको आरोप छ ।

उनीहरुले महरले महाधिवेशन गर्न नचाहेको, संगठन गर्न नसकेको र पद लम्ब्याएको भन्दै राजीनामाको मागसमेत गरेका छन् ।

विद्यार्थीको हक–हीत र अधिकारका लागि लडेको भन्ने संघभित्रको आन्तरिक लडाइँले विद्यार्थीका मुद्दा ओझेलमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार