इभाङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित पटेटार जोगीडाँडा सडक निर्माण सुरु भएको छ ।
चालु आर्थिक वर्ष २०७५/०७६ को माङसेबुङ गाउँपालिकाको वडा सिलिङतर्फको योजना अन्तरगत सो सडक निर्माण सुरु गरिएको हो ।
सो सडक निर्माणका लागि वडाबाट एक लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
पछिल्लो समय प्राय सबै गाउँमा सडक विस्तार भइसकेपनि जोगीडाँडामा सडक पुग्न सकेको छैन । यस पटकको बजेट समेत कम भएकाले जोगीडाँडासम्म सडक विस्तार हुन नसक्ने उपभोक्ता समितिका सचिव चन्द्र राईले बताए ।
त्यस ठाउँका बासिन्दा दैनिक उपभोग्य वस्तु ल्याउन र कृषि उपज बिक्रीका लागि बझैपनि डोको र नाम्लोकै भर पर्नुपरेको छ ।
वडा र गाउँपालिकाबाट समेत सो क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन नभएको स्थानीयले गुनासो गरेका छन् । चादु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पटेटार जोगीडाँडामा सडक बाहेक अन्य कुनैपनि योजना समावेश भएको छैन ।
त्यस टोलमा विपन्न आदिवासी राई समुदायको बसोबास छ ।