इभाङ : इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखी र २ इभाङको संगम स्थल बताहा दोभानमा मेला लाग्ने भएको छ ।
माघे सक्रान्तिको अवसरमा पहिलो पटक १ माघमा मकर मेला आयोजना हुन लागेको हो । मेलाका लागि आयोजक समिति नै गठन गरी तयरी सुरु गरिएको छ ।
मेलाको औचारिक उद्घाटन माघ १ गते मंगलबार विहान ८ बजे माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
स्थानीय धर्मसंस्कृति तथा रीतिरिवाजको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागेको मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम तथा ऐतिहासिक क्षेत्रको अवलोकन समेत गरिनेछ ।
मेलामा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले धान कुटेको ओखल र प्राकृतिक रुपमा उत्पन्न भएको तातोपानीको अवलोकन गर्न पाइनेछ । साथै स्थानीय स्तरमा उत्पादित विभिन्न परिकारहरुको स्वाद चाख्न समेत पाइने आयोजकले जनाएको छ ।