चितवन : चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाले पहिलो बेतको गाईभैंसीलाई दुई हजार सुत्केरी भत्ता वितरण गर्ने भएको छ ।
स्थापनाको २५ बर्ष पुगेको अवसरमा सो संस्थाले पहिलो बेते गाईभैंसीलाई सुत्केरी भत्ता दिने घोषणा गरेको हो । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्सहान गर्न र सुत्केरी गाईभैंसीलाई पौष्टिक आहार खुवाउन भत्ता दिन लागेको संस्थाका अध्यक्ष छविलाल भुषालले बताए ।
सो संस्थाको २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्तीले सो प्रस्ताव पारित गरेको छ । माघ महिनापछि ब्याउने पहिलो बेते गाईभैंसीलाई दुई हजार भत्ता दिने अध्यक्ष भूुाालले बताए । त्यस्तै, ठेलागाडा खरिदमा २० जना लाई २ हजार ५ सय, घाँस काट्ने मेसिन खरिदमा ५ जनालाई ७ हजार, चापकटर मेसिन खरिदमा १० जना लाई १० हजारका दरले अनुदान दिइने संस्थाका व्यवस्थापक खुदयराज पन्तले वताए ।
सहकारीले ८ वटा संकलन केन्द्रबाट दैनिक ६ हजार लिटर दुग्ध संकलन गर्दै आएको छ । सहकारीको ७ सय सदस्य छन् ।