धनकुटा : यो सिजनमा किसानलाई सुन्तला टिप्न र बिक्री गर्नकै लागि चटारो छ । सुन्तलाको मुख्य सिजन भएकाले कृषकको राम्रो कमाइ हुनुपर्ने हो तर बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मारमा परेका छन् ।
सुन्तला अहिले फलफूल पसलहरुमा छ्याप्छ्याप्ती पाइन्छ । सुन्तलाको मुख्य सिजन भएकाले यो बेला सस्तोमै सुन्तला पाइनुपर्ने हो र कृषकहरुले पनि राम्रै मुनाफा उठाउनुपर्ने हो । तर ग्राहक र उपभोक्ताका बीचमा रहेका बिचौलियाका कारण न त किसानले उचित मूल्य पाउन सकेका छन् नत उपभोक्ताले सस्तोमा खरिद गर्न पाएका छन्् ।
नाफा जति सबै विचौलियाहरु र व्यापारीकै खल्तीमा गइरहेको छ ।
बजारमा सुन्तलाको मूल्य प्रतिकिलो सय रुपैयाँभन्दा माथि भए पनि व्यापारीहरुले किसानबाट भने प्रतिकिलो ५० रुपैयाँको हाराहारीमा खरिद गरिरहेका छन् । यही अवस्था देखेर धनकुटा नगरपालिकाका जितेन्द्र राई आफैँ बजारको खोजीमा लागेको बताउँछन् ।
अहिले धनकुटाका अधिकांश कृषकहरुको समस्या यस्तै छ ।
राईजस्तै धनकुटाका अधिकांश सुन्तला कृषक यस्तै समस्याबाट पीडित छन् । बिचौलियाकै कारण कृषकले आफ्नो उत्पादनको मूल्य नपाउने धनकुटा नगरपालिका–३, कागतेका कृषक रमेश घिमिरेको गुनासो छ ।
धनकुटामा करीब ५५५ हेक्टर क्षेत्रफलबाट बार्षिक ५ हजार १ सय मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ । यसबाट बार्षिक ७१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भए पनि किसानको हातमा २५ करोड रुपैयाँमात्र पर्ने गरेको छ । यसमा उचित नियमन र निगरानी नगर्दा किसान र उपभोक्ता नराम्ररी ठगिएका छन् ।