जीतपुर गोल्डकप : खुदनाबारी झापा र माई नगरपालिका विजयी

  नन्दन सर्वत लिम्बू  354 पटक हेरिएको

जीतपुर : इलामको देउमाई नगरपालिका ९ जीतपुरमा जारी जीतपुर गोल्डकपमा खुदनाबारी स्पोर्टिङ झापा र गोदावरी स्पोर्टिङ माईनगरपालिका विजयी भएका छन् ।

विहीबार भएको पहिलो खेलमा फक्ताङ्लुङ स्पोर्टिङलाई १-० गोलले पराजित गर्दै खुदनावारी स्पोर्टिङ झापा विजयी बनेको हो । दोस्रो हाफको २३ औं मिनेटमा खुदवारीका रोशन मगले गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

त्यस्तै दोस्रो खेलमा वाईएफसी देउमाई नगरपालिका ९ लाई ३-० को सहज जित निकाल्दै गोदावरी स्पोर्टिङ माईनगरपालिका विजयी बन्यो ।

प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेल आयोजक जीतपुर सामुदायिक विकास मंच र बरभन्ज्याङ युवाक्लब धुसेनी तथा दोस्रो खेल गोर्खे स्पोर्टिङ सिद्दिथुम्का र फक्ताङ्लुङ स्पोर्टिङ देउमाई नगरपालिका ९ बिच हुने जनाईएको छ ।

गोल्डकपको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै खेल अवधिभरको उत्कृष्ट खेलाडीले १० तोला चाँदी बराबरको फुटबल प्राप्त गर्नेछन् ।

जीतपुर माद्यामिक बिद्यालयको खेलमैदानमा जारी गोल्डकपको फाइनल आगामी ५ माघमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार