डा. केसीकाे १६औं सत्याग्रह आज दोस्रो दिन

  नयाँ बुलन्द
0 Shares

इलाम : संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै प्रा. डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेका १६औं चरणको सत्याग्रह अाज पनि जारी छ ।

इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गरेका थिए ।

सरकारले साउन १० गते आफूसित गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग उनकाे रहेकाे छ ।

त्यस्तै डा. केसीले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन पनि माग गरेका छन् ।

साथै, प्रमाण नस्ट गर्ने, नक्कली प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाइ हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि डा. केसीले माग गरेका छन् ।

डा. केसीले देशमा बढेको भद्रगोल, अराजकता र दन्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।

डा. केसीले प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असरपरेकोजस्तो देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी पनि गरे ।

अनशनको तयारीका लागि डा. केसी पुस २४ गते मंगलबारै इलाम आएका थिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले डा. केसीसँगको सहमतिविपरीत विधेयक पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार